हेटौंडाः हेटौंडा–१६, हटियास्थित जनप्रिय माध्यमिक विद्यालयको ४० औँ वार्षिक अभिभावक भेला सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमबीच अभिभावक भेला सम्पन्न गरिएको हो ।

अभिवाभक भेलाको अवसरमा विद्यालयमा विभिन्न सांस्कृतिक नृत्य, तेक्वान्दो खेल प्रदर्शनी गरिएको विद्यालयका मिडिया संयोजक सुनिल गौतमले जानकारी दिनुभएको छ । कार्यक्रममा पूर्वप्रधानाध्यापक धनिकलाल साहलाई सम्मान गरिएको छ भने प्रधानाध्यापक भुपेन्द्र चौलागाईले शैक्षिक एवम् प्रशासनिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

विद्यालयले परीक्षामा प्रथम, द्वितीय, तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थियो । विद्यालयले अभिभावक भेलाको अवसरमा विद्यालयको मुल प्रवेशद्वार उद्घाटन गरेको गौतमले बताउनुभयो । स्वर्गीय पिता टीकानाथ फुयाल र माता टीकादेवी फुयालको स्मृतिमा छोरा बद्रीप्रसाद फुयाल र बुहारी सीता फुयालले ५ लाख रुपैयाँ खर्च गरेर विद्यालयको मुल प्रवेशद्वार बनाइएको हो ।

सामुदायिक विद्यालयमा देशकै पहिलो मिडिया स्टुडियोको उद्घाटन प्रमुख अतिथि प्रेमबहादुर पुलामीले गर्नुभएको थियो । अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया सुरु गरेको गौतमले जानकारी दिनुभयो । यसैगरी कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतम, राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाका प्रमुख कृष्णपसाद घिमिरेको विशिष्ट आतिथ्य रहेको थियो ।