हेटौंडाः चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला सुरु भएको छ । हेटौंडामा आइतबारबाट सुरु भएको संघको राष्ट्रिय भेला मंगलबारसम्म चल्नेछ ।

संघ स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा संघले हेटौंडाको पल्पसा प्याराडाइज होममा भेलाको आयोजना गरेको छ । भेलामा सिनेमा र पर्यटनसँग सम्बन्धित विभिन्न क्षेत्रका ११ वटा सेसन सञ्चालन गरिने अध्यक्ष समिर बलामीले जानकारी दिनुभयो । कार्यक्रमको उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले चलचित्र नरहे नेपाली संस्कृति र पहिचान नरहने टिप्पणी गर्नुभएको छ । चलचित्र क्षेत्र व्यक्ति र पेसागत भन्दा पनि राज्यको संस्कृति तथा पहिचानसँग जोडिएकोमा उहाँले जोड दिनुभयो । चलचित्र क्षेत्र व्यक्तिगत र पेसासँग भन्दा पनि संस्कृति र पहिचानसँग जोडिएको बताउँदै राज्यले चलचित्र निर्माणलाई प्रोत्साहन गर्नुपर्ने धारणा राख्नुभयो । विकास निर्माणसँगै चलचित्र क्षेत्रको विकासमा राज्यले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

राज्यले चलचित्र क्षेत्रको विकासका लागि शिघ्र ऐन निर्माण गरेर विकासमा उच्च मनोबलसहित काम गर्नुपर्नेमा उहाँको जोड छ । पर्यटकीय हिसाबले मकवानपुर महत्वपूर्ण रहेको र फिल्म स्टुडियो बनाउन हेटौंडा उपमहानगरपालिकाले जग्गा उपलब्ध गराउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । बोर्डले नेतृत्व लिएमा उपमहानगरपालिकाले आर्थिक तथा सामाजिकरुपमा सहयोग गर्ने उहाँको भनाइ छ । मुलुक विकासमा फड्को मारे पनि जनता सन्तुष्ट नरहेको बताउँदै राज्यले व्यक्तिको जीवनस्तर, आर्थिक उपार्जन, उत्पादनमा काम गर्नुपर्ने नगर प्रमुख लामाले दाबी गर्नुभयो । कार्यक्रममा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले चलचित्र क्षेत्रले सेवा क्षेत्रको रुपमा मान्यता नपाउँदा समस्या भएको बताउनुभयो । उहाँले चलचित्र क्षेत्रको विकासका लागि विदेशी कलाकारको प्रयोग गर्न नपाउने व्यवस्था गरिएको बताउनुभयो । कार्यक्रममा बागमती प्रदेश सञ्चार रजिष्ट्रार रेवती सापकोटाले चलचित्र क्षेत्रको विकासका लागि प्रदेश सरकारले कानुन निर्माण गर्ने तयारी गरेको जानकारी गराउनुभयो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ऐनको मस्यौदा तयार गरिरहेको उहाँको भनाइ छ । चलचित्र क्षेत्रको विकासका लागि चलचित्र पत्रकार र लेखनका लागि कार्यशाला सञ्चालन गरिरहेको सापकोटाले बताउनुभयो । एक वर्षभित्र चलचित्र क्षेत्रमा नयाँपनको महसुस हुनेगरी काम गरिरहेको उहाँको दाबी छ ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्रकर्मी र पत्रकारबिचको दुरी बढ्दो क्रममा रहेको बताउनुभएको छ । उहाँले विगतमा चलचित्र क्षेत्रको विकासमा कलाकर्मी र पत्रकार एकजुट भएर काम गर्ने गरेको भए पनि हाल उक्त परिस्थिति विपरित भइरहेको बताउनुभयो । अध्यक्ष केसीले चलचित्र ऐन नबन्दा चलचित्र क्षेत्रको विकासका काम गर्न समस्या भइरहेको बताउनुभयो । चलचित्र ऐन निर्माणका लागि बोर्डले काम गरिरेहको बताउँदै नेपाली चलचित्र क्षेत्र वर्तमान अवस्थामा आइपुग्नुमा पत्रकारहरुको अहम् भूमिका रहेको उल्लेख गर्नुभयो । विदेशी चलचित्रको अतिक्रमणबाट बचाउने र नेपाली चलचित्रलाई प्रोत्साहन गर्नेतर्फ पत्रकारहरुले भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो । अध्यक्ष केसीका अनुसार नेपालमा चलचित्र निर्माणका लागि स्टुडियो नहुँदा समस्या भइरहेको छ ।