
हेटौंडाः नेपाल आयल निगमका कार्यकारी निर्देशक नगेन्द्र साहले आयल निगमको ६० प्रतिशत काम ढुवानी व्यवसायीले गरेकोे बताउनुभएको छ । शनिबार मध्यमाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघको १३ औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनका लागि हेटौंडा आइपुग्नुभएका कार्यकारी निर्देशक साहले यस्तो बताउनुभएको हो ।
उहाँँले पेट्रोल ढुवानीमा व्यवसायीको ठूलो सहयोग रहेको बताउँदै अधिवेशनमा सहमतिमा जानसमेत आग्रह गर्नुभयो । पछिल्लो समय पाइपलाइन विस्तार हुँदा ढुवानी व्यवसायीमा केही असर पर्न गएको उहाँको भनाइ छ । नेपालमा केही समय आर्थिक मन्दी भएका कारण पेट्रोलियम पदार्थ आयात घटेकाले ढुवानीमा समस्या हुने गरेको व्यवसायीको भनाइ थियो ।
कार्यकारी निर्देशक साहले गत वर्ष अघिल्लो वर्षको तुलनमा २ प्रतिशतले पेट्रोल बढी आएको तर डिजल केही कम आयात भएको बताउनुभयो । पाइपलाइन विस्तार हँुदा ढुवानी व्यवसायीले मर्कामा परेको भनेता पनि आयल निगमले वार्षिक ६ देखि ७ अर्ब रुपैयाँ ढुवानीबापत भुक्तानी गर्दै आएको उहाँले जानकारी गराउनुभयो । विगतका दिनमा ढुवानीमा प्रयोग भएको सवारी साधन भारतमा दुर्घटना हुँदा व्यवसायी आफैंले हेर्नुपर्नेमा अहिले निगमले बिमाको व्यवस्था गरेको उहाँको भनाइ छ । ढुवानी भाडामा केही प्राविधिक कठिनाई रहेको बताउँदै लोडिङको खर्च निगमले बेहोर्ने आश्वासन दिनुभयो । पछिल्लो समय पुराना व्यवसायीलाई सहजताका लागि नयाँ ट्याङ्कर आयातमा प्रतिबन्ध लगाएको उहाँले जानकारी गराउनुभयो ।
कार्यक्रममा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी संघका केन्द्रीय अध्यक्ष मनोजकुमार दासले महंगी बढेसँगै निगमसँग पटकपटक ढुवानी भाडा बढाउन भनेता पनि सुनुवाई नभएको बताउनुभयो । निगमले भडा वृद्धि गर्छु भन्ने तर भाडा बढाएर नदिएको बताउनुभयो । ढुवानीको क्षेत्रमा विस्थापित हुनुपर्ने अवस्था नरहेको भन्दै उहाँले भन्नुभयो, ‘आयल निगमले विस्तार गरेको पाइपलाइनले दैनिक ६ हजार लिटर पेट्रोल आयात गर्छ, तर प्रतिदिन ८ हजार लिटर पेट्रोल खपत हुन्छ ।’ २ हजार लिटर पेट्रोल ढुवानी नै गर्नुपर्ने भन्दै उहाँले ढुवानी व्यवसायी निराश हुनुपर्ने अवस्था नभएको बताउनुभयो । पाइलाइन सबै स्थानमा पुग्न नसकेका कारण ढुवानीका साधनको आवश्यकता उत्तिकै रहेको उहाँको भनाइ छ ।
पहिले पहिले धेरै पेट्रोल चोरी हुने गरेकोमा पछिल्लो सयम बटम लोडिङका कारण चोरीको सम्भावना कम भएको उहाँले बताउनुभयो । कार्यक्रममा ढुवानी व्यवसायीले निगमले ढुवानीमा भाडा वृद्धि नगर्दा, नयाँ प्रविधिको विकास भई पाइपलाइनको विस्तार हुँदा व्यवसायबाट बाहिरिनु पर्ने अवस्था सिर्जना भएको बताएका थिए । कार्यक्रममा मध्यमाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष दीपक शिवाकोटीले संघले गरेको कार्य प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो । संस्थाले मकवानपुर, चितवन, धादिङ, काठमाडौं, बारा र पर्सा गरी ६ जिल्लाहरुको ट्याङ्कर व्यवसायीहरु समेटेको जानकारी गराउँदै संस्थाको मुख्य कार्यालय हेटौंडा र शाखा कार्यालय अमलेखगञ्ज बारामा रहेको जानकारी दिनुभयो । उहाँले संस्थामा ११५ जना व्यवसायीका २२३ वटा ट्याङ्कर तथा प्रत्यक्ष निर्वाचनमा मतदान गर्ने भोट संख्या १५७ रहेको जानकारी गराउनुभयो ।
२०६८ सालदेखि संस्थाको अध्यक्ष पदमा रही सम्पूर्ण कार्यसमिति सदस्यहरुसँग समन्वय गर्दै विभिन्न उतारचढाव र चुनौतीको समाधान गर्दै आएको बताउनुभयो । बरौनी रुटमा सञ्चालित ट्याङ्करहरु दुर्घटनामा पर्दा यस संस्थाको पहलबाट विभिन्न समयमा भएका दुर्घटनाहरुको समस्या समाधान गर्न तथा नेपाली ट्याङ्कर भारतमा डाँकाबाट लुटिँदा सकुसल ट्याङ्करको उद्दार गर्न सफल रहेको जानकारी गराउनुभयो । उहाँले आगामी दिनमा पेट्रोलियम ढुवानीका ट्याङ्करहरुको दुर्घटना यसै संस्थाबाट व्यवस्थापन गर्ने, भारतको मोतीहारीबाट अमलेखगञ्जसम्म पेट्रोलको पाइपलाइन आएपछि बरौनी–अमलेखगञ्ज रुटमा सञ्चालित करिब २ सय ट्याङ्करहरु कामविहीन हुन आएको बताउनुभयो । ट्याङ्करलाई अन्य रुटहरुमा स्थानान्तरण गर्ने, संस्थामा आवद्ध व्यवसायीहरुको हकहितको निमित्त मन, वचन र कर्मले लागिरहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।