हेटौँडाः मकवानपुरको कैलाश गाउँपालिकाले १३ औं अधिवेशन सम्पन्न भएको छ । शुक्रबार भएको गाउँसभाको अधिवेशनबाट कर्मचारी दरबन्दी र स्थानीय वन ऐन स्वीकृत गर्नेलगायत ४ वटा प्रस्तावमाथि छलफल भई पारित गरिएको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको आन्तरिक आय भने २० लाख रुपैयाँ मात्रै रहेको विवरण सभामा पेश गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले सभामा पेश गरेको बजेट तथा योजना संशोधन, परिमार्जन, रकमान्तर तथा थप गर्नका लागि पेश भएको योजना तथा कार्यक्रमहरु गाउँसभाले सर्वसम्मत पारित गरेको छ । गाउँसभामा उपाध्यक्ष मल्लले चालू आवमा १ करोड ११ लाख आन्तरिक आय प्रक्षेपण गरेकोमा पुस मसान्तसम्म २० लाख मात्र प्राप्त भएको जानकारी दिनुभयो । गाउँपालिकाले चालू आवमा २७ करोड ६४ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा गाउँसभामा २८ करोड ५१ लाख रुपैयाँको संशोधित अनुमान प्रस्तुत गरिएको थियो । त्यस्तै गाउँसभामा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले पेश गर्नुभएको नामटार कालिकाटार सडक आयोजनाको भेरियसनसम्बन्धी प्रस्ताव पनि गाउँसभाबाट पारित गरिएको छ ।

अधिवेशनको अवसरमा विभिन्न क्षेत्रमा योगदान गर्ने तथा उत्कृष्ट कर्म गर्ने व्यक्तित्वलाई सम्मानसमेत गरिएको छ । कैलाश सेवा पुरस्कारबाट पालिकामा कार्यरत उत्कृष्ट कर्मचारी छनौट गरी नगद पाँच÷पाँच हजार रुपैयाँसहित सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा प्राविधिक शाखाका ईञ्जिनियर महेश केसी र असिस्टेन्ट सब ईञ्जिनियर नरेन्द्र दत्त भट्ट, एमआइएस अपरेटर उमेश कुमार मुक्तान, वडा सचिव शशिकला सिन्तान, निरश मुक्तान पशु प्राविधिक, कार्यालय सहयोगि अनिल प्रजा, अहेब विश्वप्रकाश सिंह, अहेब जयप्रकाश कुमार साह, विद्यालय स्टाफ नर्स विन्दा तितुङ, प्रधानाध्यापक श्यामबहादुर सिन्तान, शिक्षक दीपकुमार चेपाङ, शिक्षक ध्रुबराज बिष्ट, बाल विकास शिक्षक शुक्रबहादुर प्रजा र विद्यालय सहयोगि सिताराम सुनार रहेका छन् । गाउँपालिकाले पत्रकार केशव समर्पणलाई पनि सम्मान गरेको छ ।

यस्तै राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा २०८० को हाइजम्पतर्फ स्वर्ण पदक विजेता गोमा बर्ताैला र तेक्वान्दोतर्फ स्वर्ण पदक विजेता अनिशा विकलाई पाँच हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ । एसईईमा उत्कृष्ट अंक ल्याउने कालिका माविकी विमशा घिसिङ र प्रेम सुनार, कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने सोही विद्यालयकी निर्मला हिम्डुङ र एसईईमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल कैलाश–२ को कमलादेवी माविका प्रधानाध्यापक राम एकवाल राय यादवलाई सम्मान गरिएको छ ।

गत आर्थिक वर्षको उत्कृष्ट उपभोक्ता समितिको रुपमा कैलाश वडा नम्वर १ को क्यूरेनी वर्ष भवन निर्माण समिति र ४ नम्बर वडा घेराबार तथा मर्मत समिति सम्मानित भएका छन् । यस्तै बालबिवाह न्युनीकरणमा विभिन्न कार्यक्रम गरिरहेको गाउँपालिकाले कक्षा १२ उत्तीर्णका साथै २० वर्ष उमेर पुगी बिवाह गर्ने ८ जना चेलीलाई प्रोत्साहनस्वरुप सम्मान गरेको छ । बजेटमै चेली प्रोत्साहन कार्यक्रम उल्लेख गरी कार्यान्वयन गरेको गाउँपालिकाले गाउँसभाको अवसरमा ८ जना चेलीलाई प्रतिव्यक्ति २० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेको हो ।

सम्मानित हुनेहरुमा वडा नम्वर १० निवासी सम्झना स्याङ्तान, वडा नम्वर ६ निवासी गोमा थोकर, वडा नम्वर ९ निवासी राममाया विश्वकर्मा, गंगा घिमिरे, सजिना शिवाकोटी, अमिरा थापा, पार्वती बर्ताैला, राधिका कालाखेती रहेका छन् । बालविवाह कम गर्नुका साथै शिक्षामा अब्बल बनाउन गाउँपालिकाले हरेक वर्ष प्रोत्साहन कार्यक्रम गरिरहेको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताउनुभएको छ ।