फापरबारी (बागमती)ः पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौंं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार बागमती गाउँपालिका–८, फापरबारीस्थित जनता माविको खेलमैदानमा भएको दोस्रो क्वार्टरफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई ३–१ गोलअन्तरले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो ।
एपीएफको जीतमा अनिष महर्जनले दुई तथा फोडे फोफनाले एक गोल गरे । खेलको दोस्रो हाफको १६ औं मिनेटमा फोफनाले गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै महर्जनले खेलको दोस्रो हाफको १६ औं मिनेटमै फोफनाको पासलाई सदुपयोग गर्दै हेडमार्फत गोल गरे भने २४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । खेलको दोस्रो हाफको ४३ औं मिनेटमा चर्च ब्वाइजका लागि विशाल बस्नेतले एक गोल गरे पनि टिमलाई हारबाट जोगाउन भने सकेनन् । म्यान अफ द म्याच महर्जन घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । गत हप्ता सम्पन्न छैठौं संस्करणको मकवानपुर गोल्डकपमा एपीएफबाट खेलेका महर्जन सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै बुलेट बाइक प्राप्त गरेका थिए ।
एपीएफ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । यसअघि बिहिबार भएको पहिलो क्वार्टरफाइनल खेलमा नवजनजागृति युवा क्लबलाई हराउँदै न्यू रोड टिम (एनआरटी) सेमिफाइनल प्रवेश गरेको थियो । सेमिफाइनल प्रवेश गरेको एपीएफले अब फाइनल प्रवेशका लागि आयोजक बागमती खेलकुद विकास समिति र विभागीय टोली त्रिभुवन आर्मीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताअन्तर्गत शनिबारको क्वार्टरफाइनल खेलमा जावलाखेल युथ क्लब र मच्छिन्द्र युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल गोल्डकपको दोस्रो संस्करणको उपविजेता र तेस्रो संस्करणको विजेतासमेत हो । प्रतियोगिताको फाइनल खेल फागुन १० गते हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।