हेटौँडाः संघीय सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसालले देशको विकासको प्रमुख आधार कृषि भएको बताउनुभएको छ । मंगलबार हेटौँडा उपमहानगरपालिकाको ५५ औँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले देशको अधिक विकासको आधार कृषि भएकोमा जोड दिनुभएको हो ।
हेटौँडा उपमहानगरपालिका पछिल्लो समयमा स्थापना भए तापनि विकासले गति लिएको बताउनुभयो । विकासलाई अझै प्राथमिकतामा राख्दै दिवसको अवसरमा उहाँले उपमहानगरपालिकालाई महानगरपालिका हुन समेत प्रेरित गर्नुभयो । उहाँले देशमा आर्थिक विकास, परिवर्तन गर्न कृषि र पशुपन्छीमा ध्यान दिनु पर्नेमा जोड दिनुभयो । देशमा भएका उद्योग सञ्चालन हुन नसक्नु देशको अवस्था गम्भिर भएको उहाँले बताउनुभयो । उहाँले उद्योग राम्रोसँग सञ्चालन हुन नसक्नुको कारण खोज्न आवश्यक रहेको समेत बताउनुभयो । नेपालले औद्योगिक क्षेत्रमा प्रतिस्पर्धा गर्न गाह्रो हुने धारणा राख्नुभयो । कृषिमा कसैसँग प्रतिस्पर्धा हुन नसक्ने बताउँदै उहाँले भन्नुभयो, “यहाँ हेटौँडामा भएको उद्योग बन्द भएको छ, विभिन्न उद्योग सञ्चालन गर्दा प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ तर कृषिमा कसैसँग पनि प्रतिशपर्धा गर्नु पर्दैन, जसले गर्दा कृषि क्षेत्र विकासको स्रोत हो ।”
नेपालमा ५६ अर्बको धान मात्रै आयात गर्नुपर्ने अवस्थामा कृषि क्षेत्रबाट आवश्यकता पूर्ति गर्नुपर्ने काममा ध्यान दिन आवश्यक रहेको भुसालले बताउनुभयो । खाद्यान्नमा आत्मनिर्भर बन्न सके विकासमा टेवा पुग्ने समेत धारणा राख्नुभयो । हेटौंडा उपमहानगरपलिका कृषिमा सम्भावना भएको क्षेत्र भएको बतउँदै कृषिमा जोड दिनुपर्ने बताउनुभयो । कृषिको निमित्त उन्नत बीउ, सिचाई, प्रविधिकीकरणलाई स्थानीय, प्रदेश र संघीय सरकार मिलेर सहकार्य गर्दै उत्पादनमा जोड दिनुभपर्ने धारणा राख्नुभयो । समन्वयात्मक ढंगले कृषिमा उत्पादन वृद्धिमा जेड दिन भनी गृहकार्य भइरहेको दाबी गर्नुभयो । पशुपालनको क्षेत्र सम्भावना भएको क्षेत्र भएकोले त्यसमा जोड दिनुपर्ने बताउनुभयो । पछिल्लो समय चीन सरकारसँग भैँसीको मासु निर्यातमा सम्झौता गरेकाले आम्दानीको स्रोत भएकोमा जोड दिनुभयो । आगामी योजनामा कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर जानुपर्ने बताउनुभयो ।
हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको अध्यक्षतामा भएको स्थापना दिवसको अवसरमा उपमहानगरपालिकाले निवर्तमान जनप्रतिनिधि, दीर्घसेवा गर्ने कर्मचारी, उत्कृष्ट कर्मचारी, उद्यमी, व्यवसायी, खेलाडी, टोल विकास संस्था, वडा, पत्रकारलाई सम्मान गरेको छ । हेटौँडा उपमहानगरपालिकाले एकसाथ ५ जना पत्रकारलाई सम्मान गरेको छ । ५५ औं स्थापना दिवसको अवसरमा टिम टेलिभिजनकी भावना रिजाल, अनलाइनखबरका अमृत चिमरिया, रातोपाटीका गणेश दुलाल, हेटौँडा सन्देशकी सुनिता विष्ट र रेडियो थाहा सञ्चारकी निशा गुरुङलाई नगदसहित सम्मान गरेको हो ।