शिक्षित नागरिकलाई विकासको एउटा महत्वपूर्ण आधार मानिन्छ । विकासका सबै पूर्वाधार निर्माण गर्न शिक्षा नभई हुँदैन । त्यसैले शिक्षालाई देश निर्माणको आधार पनि भन्ने गरिन्छ । कुनै पनि देशको विकासका लागि शिक्षित र दक्ष जनशक्ति अपरिहार्य हुन्छ । देशको समग्र विकास मापन गर्ने मानव विकास सूचकाङ्कमा पनि शिक्षालाई एउटा सूचकको रुपमा राखिएको छ । देशको शिक्षाको विकासका लागि त्यस देशको शिक्षा प्रणाली पनि उन्नत हुनुपर्छ । तर, हाम्रो देशको शिक्षा प्रणाली निकै कमजोर मानिन्छ । कामको खोजीमा दैनिक करिब २ हजार नेपालीले मुलुक छाड्ने गरेको तथ्यांकले पनि मुलुकको शिक्षा प्रणाली कमजोर रहेको स्पष्ट हुन्छ । काम खोज्दै दैनिक १ हजार ९ सय ३१ नेपालीले मुलुक छाडिरहेका छन् । चालु आर्थिक वर्ष २०८०÷८१ को सात महिनामा ४ लाख ५ हजार ५ सय ५२ नेपालीले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन् । केही वर्षदेखि उच्च शिक्षा अध्ययनका लागि विदेशिनेको संख्यामा भइरहेको वृद्धिले पनि नेपालको शिक्षा प्रणालीमा सुधार हुन नसकेको बुझ्न सकिन्छ ।
देशमा राजनीतिक परिवर्तन धेरै भए पनि जनचाहनाअनुसारको राजनीतिक संस्कार र पद्दति देखिएको छैन । परिवर्तनका लागि संघर्ष गरेका मुलुकका राजनीतिक दल र तिनका नेतृत्वले शैक्षिक रुपान्तरण हुनुपर्नेमा जोड दिने गरेका छन् । सोमबार अखिल क्रान्तिकारी जिल्ला कमिटी मकवानपुरले जिल्ला सम्मेलन गर्दै शैक्षिक व्यापारविरुद्ध आन्दोलन गर्नुपर्नेमा जोड दिएको छ । पछिल्लो समय विभिन्न प्रकारका भ्रष्टाचारका काण्डहरु बढ्दै जानुले पनि हाम्रो शिक्षा प्रणाली बेकम्मा बनिरहेको स्पष्ट बनाउँछ । जसरी पनि पैसा कमाउनुपर्छ भन्ने मूल्य, मान्यताको विकास अहिलेको शिक्षा प्रणालीले गरिरहेको छ । मुलुकमा सामुदायिक र निजी विद्यालय तथा क्याम्पस रहँदासम्म शिक्षामा रुपान्तरण सम्भव छैन । राजनीतिक दलहरुले पनि शिक्षामा आमूल परिवर्तन गरी शैक्षिक रुपान्तरणका लागि आवाज उठाउने गरेका छन् ।
शिक्षा आर्थिक तथा व्यापारको क्षेत्रमा गएकाले शैक्षिक क्षेत्र कमजोर बन्दै गएको र प्रगति र उन्नतिको परिवर्तनका लागि शिक्षा प्रणालीलाई मजबुत बनाउनुपर्ने उहाँको भनाइ छ । शैक्षिक क्षेत्रमा आमूल परिवर्तन ल्याउनुपर्ने क्रान्तिकारीमात्र होइन सबैजसो विद्यार्थी संगठन र राजनीतिक दलको मान्यता छ । शैक्षिक रुपान्तरणका लागि आकर्षक नारा बनाएर चुनावमा भोट माग्ने गरेको भए पनि सत्तामा पुगेपछि चुनावमा लगाएका नारा बिर्सने बानीले शिक्षाको विकास हुन नसकेको हो । दशकौंदेखि माध्यमिक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गर्ने भनिए पनि व्यवहारमा निःशुल्क हुन सकेको छैन । वर्तमान संविधानले आधारभूत तहसम्म अनिवार्य र कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था गरेको छ । तर, उक्त व्यवस्थाको कार्यान्वयनका लागि राज्यले ठोस पहल गर्न सकेको छैन । सामुदायिक विद्यालय सञ्चालनका लागि पर्याप्त बजेट उपलब्ध नहुँदा सामुदायिक विद्यालयले नै अभिभावकसँग पैसा असुलीरहेका छन् । अर्कोतिर निजी र सामुदायिक दुबै विद्यालयको अस्तित्व रहँदासम्म शिक्षा निःशुल्क भएको मान्न सकिँदैन ।
हाम्रो शिक्षा प्रणाली कमजोर भएकै कारण उत्पादित शैक्षिक जनशक्ति बेरोजगार बन्नु परिरहेको छ । आफ्नै देशमा पसिना बगाएर खाने ज्ञान तथा सीप हाम्रो शिक्षा प्रणालीले सिकाउन सकेको छैन । अहिलेको शिक्षा प्रणाली र संरचनाले यसलाई आत्मसाथ गर्न सक्ने अवस्था देखिँदैन । मुलुकको शिक्षा प्रणाली असफल भइरहँदा पनि सरकार तथा राजनीतिक दल र विद्यार्थी संगठनका नेतृत्वमा पर्याप्त चासो र चिन्ता नदेखिनुले शिक्षामा रुपान्तरण जटिल बनिरहेको छ । शिक्षा प्रणालीमा आमूल परिवर्तन गर्दै शिक्षालाई समाजवादउन्मुख समृद्ध राष्ट्र निर्माणको आधार बनाउनु आवश्यक छ । केबल आकर्षक नारा र चर्को भाषणले मात्र शिक्षामा रुपान्तरण हुन सक्दैन ।