तेक्वान्दो प्रतियोगितामा सहभागी भएका हेटौडा उपमहानगरको टिम ।

हेटौंडाः चौथो संस्करणको बागमती प्रदेशस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाले ५ वटा पदक प्राप्त गरेको छ । जैसीदेवल युथ क्लबको आयोजनामा काठमाडौंमा शनिबार सम्पन्न प्रतियोगितामा १ स्वर्ण, २ रजत र २ वटा कास्य पदक हासिल गर्दै हेटौंडाले ५ वटा पदक प्राप्त गर्न सफल भएको हो ।

हेटौंडा उपमहानगरपालिकाबाट सहभागी भएका २० जना खेलाडीमध्ये २३ देखि २६ केजी तौल समूहबाट कृशिका क्षेत्री प्रथम भएकी छिन् । यस्तै ३२ देखि ३५ केजी तौल समूहमा माधुरी र अनिशा विक द्वितीय हुँदा २६ देखि २९ केजी तौल समूहमा शीतल बर्तौला र २८ देखि ३१ केजी तौल समूहमा कृष थिङ तृतीय भएका छन् ।

प्रतियोगितामा बागमती प्रदेशका १९ वटा पालिकाहरुबाट करिब ५ सय जनाभन्दा बढी खेलाडीको सहभागिता रहेको थियो । हेटौंडाबाट सहभागी भएका खेलाडीहरुको प्रतिनिधित्व गर्न टिम कोचको रुपमा तेक्वान्दो कार्यसमितिका सचिव विक्रम लामिछाने र टिम म्यानेजरको रुपमा कोषाध्यक्ष रवीन डंगोल जानुभएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले स्वर्ण, रजत र कास्य पदकसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

हेटौंडा उपमहानगरपालिकाभित्रका खेलाडीहरुबीच प्रतिस्पर्धा गराई प्रत्येक तौल समूहमा प्रथम हुने खेलाडीहरुलाई छनोट गरेर प्रतियोगितामा सहभागी गराइएको सचिव लामिछानेले बताउनुभयो । हेटौंडाबाट सहभागी भएका खेलाडीहरुको खर्चका लागि पालिकाले ५ लाख रुपैयाँ छुट्याएको थियो ।

प्रतियोगितामा पुरुषतर्फ २५ देखि २८ केजी तौल समूह, २८ देखि ३१ केजी तौल समूह, ३१ देखि ३४ केजी तौल समूह, ३४ देखि ३८ केजी तौल समूह, ३८ देखि ४२ केजी तौल समूह, ४२ देखि ४६ केजी तौल समूह, ४६ देखि ५० केजी तौल समूह र ५० देखि ५४ केजी तौल समूहका खेलाडीहरुबीच प्रतिस्पर्धा भएको छ । महिलातर्फ २३ देखि २६, २६ देखि २९, २९ देखि ३२, ३२ देखि ३५, ३५ देखि ३८, ३८ देखि ४२, ४२ देखि ४६ र ४६ देखि ५० केजी तौल समूहका खेलाडीबीच प्रतिस्पर्धा भएको थियो । जैसीदेवल युथ क्लबका अध्यक्ष राजेश प्रजापतिको सभाध्यक्ष तथा काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरको प्रमृुख आतिथ्यमा पुरस्कार वितरण भएको थियो ।