हेटौँडाः बागमती प्रदेशको तीन जिल्लामा विभिन्न घटनामा चार जनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार धादिङमा दुई, सिन्धुली र चितवनमा एक–एक गरी चार जनाको मृत्यु भएको हो ।
शनिबार धादिङको गजुरी गाउँपालिका–४, गैरीगाउँमा एकजना मृत फेला परेका छन् । मृत फेला पर्नेमा सोही ठाउँका ७६ वर्षीय श्रीकृष्ण तामाङ रहेको प्रहरीले जनाएको छ । तामाङ आफ्नो घरबाट २ किलोमिटर पश्चिममा रहेको अजेरी जङ्गलमा मृत फेला परेको प्रहरी जनाएको छ । यस्तै शनिबार नै धादिङको निलकण्ठ नगरपालिका–८, साधुटार दोभानमा आराले काट्दा एकजनाको मृत्यु भएको छ । शनिबार दिउँसो १२ बजेर ५५ मिनेटमा सामुदायिक वनको रुख लाईनबाट चल्ने हाते आराले काट्ने क्रममा सोही ठाउँका ३८ वर्षीय राज कुमार श्रेष्ठको मृत्यु भएको हो । आराले बायाँ छातिको भागमा काट्दा श्रेष्ठ गम्भीर घाइते भएका थिए । घाइते श्रेष्ठलाई उपचारका लागि जिल्ला अस्पताल धादिङमा लगिएकोमा दिउँसो २ बजेर ५ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६, निवुवाटारमा एकजनाको मृत्यु भएको छ । शनिबार बिहान १० बजेर ३० मिनेटको समयमा कमलामाई नगरपालिका–२ घर भई हाल ६ नम्बर वडास्थित रातामाटामा डेरा गरी बस्ने ३६ वर्षीय अशोक वाईबाको मृत्यु भएको हो । वाईबालाई छाती दुखेपछि उपचारका लागि जिल्ला अस्पताल सिन्धुली लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक वाईबाका आफन्तहरुले अस्पतालको लापरवाहीले मृत्यु भएको आरोप लगाएका छन् । मृतक वाईबाको शव शनिबार दिउँसो २ बजेर ३० मिनेटको समयमा बुवाले बुझी लगेको जनाएको छ ।
यस्तै चितवनको भरतपुर महानगरपालिका–१० मा एकजना मृत अवस्थामा फेला परेका छन् । मागी खाएर हिँड्ने पहिचान नखुलेको करिब ३० वर्षीय पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतक पुरुषको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।