शुक्रबार स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गर्नुहुँदै वडा अध्यक्ष दामोदर गौतम ।

हेटौँडाः हेटौँडा–७, नागस्वतीस्थित नवज्योति माविमा आँखा शिविर र सरसफाई कार्यक्रम भएको छ । विद्यालयकै आयोजनामा शुक्रबार आँखा शिविर भएको हो । विद्यालयप्रति स्थानीय समुदाय र अभिभावकको ध्यानाकर्षण गराउने उद्देश्यले आँखा शिविरको आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमप्रसाद अधिकारीले जानकारी दिनुभएको छ ।

अघिल्लो साता मात्रै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन हुनुभएका अधिकारीले विद्यालयमा स्थानीय र अभिभावकलाई उपस्थित गराउन पनि शिविरको आयोजना गरिएको बताउनुभएको छ । हेटौँडा–४, पारिजातपथस्थित सफल फार्मेसीका दमन अधिकारीले आँखा परीक्षण गर्नुभएको थियो । शिविरमा तीन सयभन्दा बढीले सेवा लिएका छन् । विद्यालयले १५ हजार रुपैयाँ बराबरको औषधी निशूल्क वितरण गरेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमप्रसाद अधिकारीको अध्यक्षता तथा वडा अध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यमा आँखा शिविरको उद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रममा वडा सदस्य सन्तुमाया पाख्रिन, दिनेश थापा मगरको पनि आतिथ्य रहेको थियो ।

यस्तै शनिबार बिहान विद्यालय परिसर सरसफाई गरिएको छ । हेटौँडा उपमहानगरपालिकाको ५५ औं स्थापना दिवसको अवसर पारेर वडा कार्यालय र विद्यालयको संयुक्त आयोजनामा भएको विद्यालय परिसर सरसफाई कार्यक्रममा जनप्रतिनिधि, अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थीको सहभागिता रहेको थियो ।