हेटौँडाः आगामी चैत १५ गतेबाट सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि मकवानपुरको राक्सिराङ गाउँपालिकामा पनि परीक्षा केन्द्र कायम गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने जिल्ला परीक्षा समन्वय समिति मकवानपुरको माघ १५ गते बसेको बैठकले जिल्लाको चेपाङ बाहुल्य दुर्गम क्षेत्रमा पनि परीक्षा केन्द्र कायम गर्ने निर्णय गरेको हो ।
जिल्ला परीक्षा समन्वय समितिका सदस्य–सचिव समेत रहनुभएका शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दीनानाथ गौतमका अनुसार पालिकाको सिफारिससहित विद्यालयले माग गरेपछि राक्सिराङ गाउँपालिकाको प्रजा जागृति माविमा परीक्षा केन्द्र्र कामय गर्ने निर्र्णय गरिएको छ । राक्सिराङको प्रजा जागृति माविमा देवीटार मावि, सूर्योेदय मावि, राष्ट्रिय मावि सिलिङ्गे, कालिका मावि खैराङ र कालिका मावि राक्सिराङका विद्यार्थीले परीक्षा दिन पाउनेछन् । प्रजा जागृतिमा दुइ सय ८१ जना विद्यार्थीले परीक्षा दिनेछन् ।
परीक्षा केन्द्र कायम गर्ने सन्दर्भमा परीक्षा केन्द्रको सुरक्षा, परीक्षा केन्द्र निर्धारण गरिने विद्यालयको भौतिक संरचना, पर्खाल, डेस्क–बेन्च, विद्यार्थीको सहजतालगायतलाई ध्यान दिइने गौतमको भनाइ छ । यसअघि राक्सिराङ गाउँपालिकाका विद्यार्थी एसईईमा सहभागी हुन छिमेकी मनहरी गाउँपालिकामा धाउन बाध्य थिए । राक्सिराङ गाउँपालिकामा एउटा परीक्षा केन्द्र तोकिएसँगै मकवानपुर जिल्लामा एसईईका लागि परीक्षा केन्द्रको संख्या २६ पुग्ने भएको छ ।
मकवानपुर जिल्लाको कैलाश गाउँपालिका मात्रै एसईईको केन्द्रविहिन पालिका हो । विद्यार्थीको सहजताका लागि विद्यालयले पालिकाको सिफारिसमा त्यहाँ पनि आवश्यक मापदण्ड पूरा हुने अवस्था रहेमा केन्द्र निर्धारण गर्न सकिने इकाई प्रमुख गौतमको भनाइ छ । यस वर्ष मकवानपुर जिल्लाका एक सय ३८ विद्यालयबाट छ हजार एक सय ५६ जना विद्यार्थीले एसईईको परीक्षा फारम भरेका छन् ।