हेटौँडाः हेटौँडा उपमहानगरपालिका, बकैया गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाका ४८ वटा सामुदायिक विद्यालयमा एकसाथ विद्यालय शिक्षा परीक्षा (एसईई) अभ्यास परीक्षा सुरु भएको छ । पहिलो दिन बिहिबार अनिवार्य अंग्रेजी विषयको परीक्षामा दुई हजार ७७ जना विद्यार्थी सहभागी भएको नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौँडाका अध्यक्ष भोगेन्द्र लुइटेलले जानकारी दिनुभएको छ । परीक्षा दिनको १ बजेबाट सुरु भएको थियो ।
परीक्षा फारम भरेका मध्ये १० जना विद्यार्थी अनुपस्थित भएको लुइटेलले बताउनुभएको छ । नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौँडाको सहजीकरणमा तीन वटा पालिकाका ४८ विद्यालयले एकसाथ अभ्यास परीक्षा सञ्चालन गरेको हो । पहिलो दिन बिहिबार हेटौँडा उपमहानगरपालिकाका २४ विद्यालयका एक हजार तीन सय ७६ जना, मकवानपुरगढी गाउँपालिकाका १० विद्यालय दुई सय ८९ जना र बकैया गाउँपालिकाका ११ विद्यालयका चार सय १२ विद्यार्थी अभ्यास परीक्षामा सहभागी भएका छन् ।
हेटौँडा उपमहानगरपालिका–३, लेवटस्थित बालउज्ज्वल मावि र हेटौँडा–६, चौघडाबाहेक सबै विद्यालयले नगरस्तरीय शैक्षिक समन्वय समितिसँगको सहकार्यमा एसईई अभ्यास परीक्षा सञ्चालन गरेका छन् । हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडाले भने वृहत खेलकुद कार्यक्रमको आयोेजना गरेको हुनाले बिहिबार र शुक्रबारको परीक्षा फागुन ५ र ६ गते सञ्चालन गर्ने जनाएको छ । शुक्रबार अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ । यसअघि मकवानपुरका निजी विद्यालयहरुले माघ १४ गतेदेखि सुुरु गरी माघ २२ गते नै परीक्षा सकाइसकेको छ । राष्ट्रिय परीक्षा बोर्डले भने एसईई परीक्षाको तालिका चैत १५ गतेबाट सञ्चालन गर्ने गरी प्रकाशित गरेको छ ।