हेटौंडाः हेटौंडा उपमहानगरपालिका–७, नागस्वतीमा निर्मित वनदेवी मन्दिरको उद्घाटन हुने भएको छ । बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै वनदेवी तथा राधाकृष्ण मन्दिर संरक्षण समितिले मन्दिरको उद्घाटन आगामी शनिबार हुने जानकारी गराएको हो ।
मन्दिरको उद्घाटन वीरगञ्जका व्यवसायी एवम् समाजसेवी मुरलीधर रुङ्गटाबाट हुने मन्दिर संरक्षण समितिले जनाएको छ । हेटौंडा–७, मिलनचोक निवासी दलबहादुर खड्काको डेढ करोड व्यक्तिगत सहयोगमा वनदेवी मन्दिरको निर्माण भएको हो । आफ्नो इच्छाले मन्दिर निर्माणका लागि जग्गा नै बेचेर मन्दिर निर्माण गरेको उहाँले बताउनुभयो ।
मन्दिर निर्माणमा आफूले सहयोग गरेको बताउँदै खड्काले मन्दिर निर्माणमा अझै सहयोग गर्नेसमेत बताउनुभयो । २०११ सालबाट सामान्य पूजाआजा गरी सुरु भएको उक्त स्थानमा अहिले राधाकृष्ण, वनदेवीको मन्दिर निर्माण भएको छ । २ विगाहा १३ कठ्ठा जग्गामा मन्दिरनिर्माणका लागि २०७० सालमा विधान दर्ता भएको थियो । यही माघ १६ गते मन्दिरमा देवीको मूर्ति प्रतिस्थापन भइसकेको छ ।
देवीको मन्दिर उद्घाटनका दिन इन्द्रेणी सांस्कृतिक विकास केन्द्र पनि हेटौंडा आउने भएको छ । इन्दे्रणी समूहले विभिन्न कार्यक्रम गर्नेछ । मन्दिर संरक्षण समितिले मन्दिर निर्माण सम्पन्न गर्न आर्थिक संकलन, अक्षयकोष स्थापनाको लागि इन्दे्रणी केन्द्रलाई ल्याउन लागेको जनाएको छ । यस कार्यक्रमबाट समितिले कम्तीमा २५ लाख रुपैयाँ अक्षयकोषमा राख्ने लक्ष्य राखेको छ ।