हेटौंडाः मकवानपुर जिल्ला क्रिकेट संघको आयोजनामा हेटौंडामा जारी स्वर्गीय निरज श्रेष्ठ स्मृति दोस्रो विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत् बुधबार ३ खेल सम्पन्न भएको छ । मंगलबारबाट हेटौंडा–४, हुप्रचौरमा सुरु भएको प्रतियोगिताको दोस्रो दिन बुधबार ३ वटा खेल सम्पन्न भएको हो ।
पहिलो खेलमा हेटौंडा–४ स्थित भूटनदेवी माध्यमिक विद्यालय विजयी भएको छ । भूटनदेवीले हेटौंडा एकेडेमीलाई ८ विकेटले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको एकेडेमीले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर ५१ रन जोड्न सफल भएको थियो ।
हेटौंडा एकेडेमीका क्रिस ठकुरीले सर्वाधिक १९ रन बनाएका थिए । आदित्य यादवले ६ रन र चन्दन गिरीले ५ रन जोडेका हुन् । भूटनदेवीको तर्फबाट एमडी अलीले ३ विकेट लिएका थिए । नसिम शेख, ऋतिक यादवले र नरेन्द्र यादवले समान २–२ विकेट लिएका थिए ।
जवाफी ब्याटिङ गरेको भूटनदेवीले ९ ओभरमा २ विकेटमात्र गुमाएर ५४ रन जोड्न सफल भएको थियो । भूटनदेवीका नरेन्द्र अधिकारीले सर्वाधिक २६ रन जोडेका थिए । नसिम शेख र शशिकान्त यादवले समान ६–६ रन जोडेका थिए । हेटौंडा एकेडेमीका आदित्य यादव र एमडीले १–१ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच नरेन्द्र अधिकारी घोषित भएका छन् ।
बुधबार भएको दोस्रो खेलमा हेटौंडा–५ स्थित जीएस निकेतन ५ विकेटले विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको कमाने एकेडेमीले १५ ओभरमा ५ विकेट गुमाएर ८६ रन बनाएको थियो । कमानेको तर्फबाट जोयर गुरुङले सर्वाधिक ३० रन जोडेका थिए । नेहाल देवानले १३ रन र सृजन थापाले ११ रन जोडेका थिए । जीएस निकेतनबाट प्रियान्सु यादव र अनि यादवले १–१ विकेट लिएका थिए ।
जवाफी ब्याटिङमा उत्रिएको जीएस निकेतनले १३ ओभरमा ३ विकेट गुमाएर कमाने एकेडेमीले दिएको लक्ष्यलाई भेट्टायो । जीएसको तर्फबाट प्रियान्सु यादवले सर्वाधिक ४७ रन बनाएका थिए । युवराज यादवले ८ रन र समीर यादवले ४ रन जोडेका हुन् । कमाने एकेडेमीबाट सुमन श्रेष्ठ र उत्सव सापकोटाले समान १–१ विकेट लिएका हुन् । खेलको म्यान अफ द म्याच जीएस निकेतनबाट प्रियान्सु यादव घोषित भएका छन् ।
यस्तै, बुधबारै भएको तेस्रो खेलमा हेटौंडा–५ स्थित सिद्धार्थ शिशु सदन ७ विकेटले विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको हेटौंडा–२ स्थित बालजागृति बोर्डिङले सबै विकेट गुमाएर ८० रन बनाएको थियो । बालजागृतिबाट प्रज्ञान सुवेदीले सर्वाधिक २९ रन बनाउन सफल भएका थिए । सुरज साहले १० रन र अभिषेक पटेलले ८ रन बनाएका थिए । सिद्धार्थ शिशु सदनबाट नयन स्याङ्बोले सर्वाधिक ४ विकेट लिएका थिए । सुलभ झाले ३ र अनुराग पटेलले २ विकेट लिएका थिए ।
जवाफी ब्याटिङ गरेको सिद्धार्थ शिशु सदनले ११ ओभरमा ३ विकेट गुमाएर बालजागृतिले दिएको लक्ष्य भेट्टायो । सिद्धार्थबाट शिवम यादवले ३२ रन बनाएका थिए भने आदित्य यादवले २८ रन बनाएका थिए । बालजागृतिबाट प्रसिद्ध तिमल्सिना, प्रनव वरसला र समीर घिमिरेले समान १–१ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याद सिद्धार्थका नयन स्याङ्बो घोषित भएका छन् ।
लिग कम नआउटको आधारमा सञ्चालन भएको प्रतियोगिको फाइनल खेल फागुन ५ गते हुनेछ । प्रतियोगितामा समूह चरणको खेल १५ ओभरको हुनेछ भने सेमिफाइनल र फाइनल खेल २० ओभरको हुनेछ । बिहीबार पहिलो खेल हेटौंडा एकेडेमी र जीएस निकेतनबीच हुनेछ । दोस्रो खेल कमाने एकेडेमी र तुलसी मेहर बोर्डिङबीच हुनेछ । तेस्रो खेल सोलिड्यारिटी बोर्डिङ र ज्ञानोदय बालबाटिका एकेडेमीबीच हुनेछ ।
प्रतियोगितामा करिब ६ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ । प्रतियोगिताको उपाधि विजेता टिमले ४० हजार रुपैयाँ र उपविजेता टिमले २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका वेष्ट बलर र वेष्ट व्याट्सम्यानले ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा १३ वटा विद्यालयको टिम सहभागी छ ।