फाइल तस्वीर ।

हेटौंडाः छैठौँ संस्करणको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको क्वाटरफाइनल चरणको अन्तिम खेल सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो ।

मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा सशस्त्र प्रहरी बल (एपीएफ)ले आहा रारा गोल्डकपको उपविजेतासमेत रहेको ललितपुरको थ्रीस्टार क्लबलाई ४–० गोलले सहजै पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । एपीएफको जितमा अनिसेतले फ्री किकको सुनौलो अवसर पाएर एक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ४८ औँ मिनेटमा अनिश महर्जनले गोल गर्दै अग्रतालाई बढाएका थिए । कमजोर अवस्थामा देखिएको थ्रीस्टार क्लबविरुद्ध ५९ औं मिनेटमा प्रदीप लामा र विदेशी खेलाडी सर्जसङले समान १–१ गोल गर्दै एपीएफलाई सहजै जित दिलाएका थिए ।

खेलको म्यान अफ द म्याच एपीएफका प्रदीप लामा घोषित भएका छन् । प्रतियोगिताअन्तर्गत् बुधबार सेमिफाइनल खेलमा धनकुटाको राजारानी क्लब र काठमाडौंको न्युरोड टिम (एनआरटी)बीच प्रतिस्पर्धा हुनेछ । बिहीबार एपीएफले फाइनल प्रवेशका लागि सेमिफाइनमा राइट लाइन युथ क्लब बागमतीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

१२ टिमको सहभागिता रहेको प्रतियोगितामा ८ टिम बाहिरिएका छन् । प्रतियोगिताको उपाधि विजेता टिमले १५ लाख रुपैयाँ र उपविजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ३ सय ५० सीसीको बुलेट बाइक पाउनेछन् । प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १० हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीहरुले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भइरहेको प्रतियोगितामा करिब १ करोड ६४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।