हेटौंडाः हेटौंडा–१ स्थित स्वास्थ्य आपूर्ति व्यावस्थापन केन्द्र परिसरभित्र बायोमेडिकल वर्कसपको उद्घाटन गरिएको छ । बिहीबार बगमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले बायोमेडिकल स्टोर्सको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रम स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको आयोजना र निक सिमोन्स इन्स्टिच्युटको प्राविधिक सहयोगमा भएको हो । इन्स्टिच्युटका निर्देशक डा. अर्चना अमात्यले बागमती प्रदेशका स्वास्थ्यमन्त्री जोशीलाई ७० लाख रुपैयाँ बराबरको बायोमेडिकल क्यालिबे्रसन उपकरण हस्तान्तरण गर्नु भएको छ । आपूर्ति व्यवस्थापन केन्द्र, मकवानपुरका निर्देशक बसन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री जोशीको प्रमुख आतिथ्य रहेको थियो ।
बागमती प्रदेशअन्तर्गत्का १३ वटा अस्पतालमा बिग्रिएर बसेको उपकरणहरु केन्द्रमा बनाइने भएको छ । बागमती प्रदेशअन्तर्गत् रहेको विभिन्न स्वास्थ्य संस्थाहरुमा प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि उपकरण आवश्यक रहेको आपूर्ति व्यवस्थापन केन्द्रका बायोमेडिकल इन्जिनियर नेल्सन महतले बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयअन्तर्गत्का स्वास्थ्य संस्थाहरुमा भएका मेडिकल उपकरणहरुको सूची बनाई कार्यात्मक र गैर–कार्यात्मक उपकरण छुट्याई त्यसलाई व्यवस्थापन गर्ने उद्देश्य बनाइएको छ महतले बताउनुभयो । कार्यक्रममा मन्त्री जोशीले प्रदेशअन्तर्गत्का विभिन्न अस्पतालका सेवाग्राहीबाट उपकरणको विषयमा गुनासो सुनिरहेको बताउनुभयो । अस्पतालका उपकरणहरुमध्ये कुनै प्रयोगमा नआएको तथा बिग्रिएको भन्दै मन्त्री जोशीले वर्कसपले गुनासो नआउन सहयोग गर्नसक्ने बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले वर्कसपले स्वास्थ्य सेवामा गुणस्तरीय सेवा प्रदान गर्न सहयोग गर्ने बताउनुभयो । वर्कसपले स्वास्थ्य सेवाको स्तरोन्नति हुने भन्दै सचिव जोशीले सल्लाह सुझाव दिनुभयो ।
केन्द्रमा जनशक्ति र ठाउँको समस्या भएको निर्देशक अधिकारीले बताउनुभयो । केन्द्रलाई तालिम साइटमा विकास गर्दै लैजाने उद्देश्य रहेको उहाँले बताउनुभयो । कार्यक्रममा स्वास्थ्य व्यवस्था महाशाखाका निर्देशक डा. श्रवणकुमार थापा, स्वास्थ्य निर्देशनालयका दीपकप्रसाद तिवारी, स्वास्थ्य तालिम केन्द्रका निर्देशक डा. नरेन्द्रकुमार झा, स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख डा. खगेश्वर गेलाललगायतको उपस्थिति रहेको थियो । निक सिमोन्स इन्स्टिच्युटले नेपालको कर्णाली, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा वर्कसप सञ्चालनमा ल्याइसकेको छ । इन्स्टिच्युटले आयोजना गर्ने तालिम सकिएपछि बागमतीमा पनि वर्कसप सञ्चालनमा आउने बताइएको छ ।