फाइल तस्वीर ।

हेटौंडाः हेटौंडामा जारी छैठौं संस्करणको सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज सोमबार एक खेल हुँदैछ । हेटौंडा–६ स्थित गौरीटार रंगशालामा हुने तेस्रो क्वाटरफाइनल खेलमा सेमिफाइनल प्रवेशका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र धनकुटाको राजारानी क्बलबीच प्रतिस्र्धा हुँदैछ ।

प्रतियोगितामा पहिलो पटक सहभागि जनाएका राजारानी र दुई पटकको गोल्डकप विजेता आर्मीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । त्रिभुवन आर्मी मकवानपुर गोल्डकपको तेस्रो र चौथौँ संस्करणको विजेतासमेत हो । आर्मीले आज यो संस्करणमा पहिलो खेल खेल्न लागेको हो भने राजारानीको दोस्रो पटक हो । यसअघि ए डिभिजन क्बल चर्च ब्वाईज युनाटेडलाई हराउँदै राजारानी क्वाटरफाइनमा प्रवेश गरेको थियो भने आर्मी वाई पाएर सिधै क्वाटरफाइनलमा स्थान बनाएको थियो । आजको विजयी टिम प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बन्नेछ । यसअघि घरेलु टोली एन्फा मकवानपुरलाई हराउँदै सर्लाहीको बागमती युवा क्लब र न्यु रोड टिम एनआरटी सेमिफाइनल प्रवेश गरिसकेको छ ।

प्रतियोगिताको फाइनल खेल आगामी माघ २७ गते हुनेछ । प्रतियोगिताको विजेता टिमले १५ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।