कार्यक्रममा बोल्नुहुँदै बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा

हेटौंडाः बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले देशमा विकास सुनिश्चित रहेको बताउनुभएको छ । बिहीबार बागमती प्रदेशसभाको छैटौं वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले विकासको गति केही ढिला भए पनि गन्तव्य पनि सुनिश्चित रहेको बताउनु भएको हो ।

प्रदेशमा लामो समयसम्म संसदीय समितिहरु बन्न नसक्नु, कार्यसम्पादनमा अवरोध तथा ढिलासुस्ती हुनु र जिम्मेवारी बोधको अभाव हुनु सुखद् संकेत नभएको बताउँदै संसदका समस्याहरु समाधान गर्दै निरन्तरता दिन जरुरी रहेको बताउनुभयो । उचित समयमा बाञ्छित परिणाम नपाउँदा विश्वासको संकट र भरोशामा ह्रास आउन सक्ने भएकाले समयमा कार्य गर्न जोड दिनुभयो ।

वर्तमान भविष्य निर्माणको आधार भएकाले आवश्यकता पहिचान गरी आवश्यक परे थप अन्य कानुन निर्माणको प्रक्रियालाई तीव्रता दिन संसद पूर्ण क्रियाशील रहनुपर्नेमा जोड दिनुभयो । नेपाली जनताले वसन्त क्रान्तिको जगमा खडा गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई कुनै शक्तिले पनि ढाल्न नसक्ने उहाँले बताउनुभयो ।

समग्र उपलब्धीको संरक्षण र सम्वद्र्धन सबै मिलेर गर्नुपर्ने भएकाले सिद्धान्तपथमा यात्रीका रुपमा अघि बढ्न जरुरी रहेको उहाँको भनाइ छ । प्रदेशमा रहेका विकासका प्रशस्त सम्भावनाहरु उजागर गर्दै यथोचित अन्वेषण र उन्नयनमा लाग्न जरुरी रहेको बताउनुभयो । निर्यात प्रवद्र्धन, आयात प्रतिस्थापन, खाद्यान्नमा आत्मनिर्भरता हुँदै शिक्षा र स्वास्थ्यमा हुने व्यापारीकरण नियन्त्रण गरेर आर्थिक अवस्थामा सुधार ल्याउन सम्भव रहेको उहाँको भनाइ छ ।

विकास र समृद्धिको समस्या सरकार र प्रतिपक्षको साझा भएको टिप्पणी गर्दै संवाद, सहमति र सहकार्यबाट अघि बढ्न जरुरी रहेहको प्रदेश प्रमुख शर्माले बताउनुभयो । उहाँले प्रदेशसभाले आगामी दिनमा उद्योग व्यवसायको स्थापना र प्रवद्र्धन, विकास र उत्थान गर्नसक्ने नीति तथा कार्यक्रम तर्जुमा गर्न जरुरी रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश समृद्धिको स्पष्ट नीति नहुँदा समस्या भएको बताउनुभएको छ । संघीय र प्रदेशको नीति अभावका कारणले समृद्धि यात्रा स्पष्ट नभएको बताउनुभयो । संघीय सरकारको ऐन स्पष्ट नहुँदा प्रदेशमा काम गर्न असहज भएको बताउँदै उहाँले भन्नुभयो, ‘ऐन निर्माण स्पष्ट भएको छैन, हालसम्म सरकारमा जानेहरुले पनि नयाँ कानुन बनाउन नसकेको, पुरानै कानुन ऐनमा चल्दै गएको छ ।’ वर्तमान सरकारले प्रदेशमा समृद्धि र विकासका लागि कार्य गरिरहेको दावी गर्नुभयो । पछिल्लो समय सरकारको आलोचना तिव्र भइरहेकाले वर्तमान सरकारले कुराले नभई काम गरेर जवाफ दिने उहाँको भनाइ छ । सरकारले पञ्चवर्षीय योजना लिएर काम गर्ने चरणमा रहेको बताउँदै प्रदेश सरकारले भौतिक पूर्वाधार क्षेत्रमा ५० लाखभन्दा कमका योजनाहरु स्थानीय सरकारलाई पठाउने र सोभन्दा माथिका योजनालाई पूर्वाधार तथा सडक, पुल निर्माणसम्बधी नीति निर्माण गरेर अघि बढ्ने तयारी गरेको मुख्यमन्त्री जम्कट्टेलले बताउनुभयो ।

जनताले वर्तमान व्यवस्थाको विकल्प नखोजेको भन्दै सरकार सिस्टमको अधिनमा नै रहेर काम गरिरहेको उहाँको भनाइ छ । प्रदेश सरकारको ठूलो हिस्सा पूर्वाधार विकासमा लगानी भइरहेको र त्यसमा आफूलाई गर्व रहेको उहाँले दाबी गर्नुभयो । प्रदेश सरकारले सामुदायिक विद्यालयहरुको गुणस्तर सुधारका लागि आवासीय मोडलमा सञ्चालन गर्ने नीति अवलम्बन गर्ने तयारी गरेको उहाँको भनाइ छ ।
प्रदेशका नागरिकहरुलाई व्यवहारिक सीप प्रदान गर्न सरकारले सिटीईभीटीका प्राविधिक कोर्सहरुलाई माध्यमिक विद्यालयस्तरमा ल्याउने गरी अघि बढेको उहाँको भनाइ छ । सार्वजनिक विश्वविद्यालय स्थापनाको लागि प्रदेश सरकार अन्तिम तयारीमा रहेको उहाँले बताउनुभयो । कृषि क्षेत्रको रुपान्तरणका लागि सरकारले समुदायमा आधारित उत्पादन मोडलमा रहेर कृषक, सहकारी र सरकारलाई जोड्ने गरी काम अघि बढाएको उहाँले बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले जनताको मुलभूत सिद्धान्तलाई आधार मानेर प्रदेश सरकारले कार्य गरेको बताउनुभयो । सरकारले सबै जनताको अधिकार सुनिश्चित गर्ने आकांक्षाअनुसार कानुन निर्माण गरेको बताउनुभयो । सरकारले अधुरो योजना पूर्ति गर्दै गएकाले नयाँ निर्माणको कार्यमा बजेट विनियोजन गर्न असफल भएको धारणा राख्नुभयो । सरकार निर्माणमा सबैको महत्वपूर्ण भूमिका रहने भएकाले सबै मिलेर जान आवश्यक रहेकोमा जोड दिँदै आक्षेप लगाउने भन्दा पनि सकारात्मक सोच राखेर जानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रमुख प्रतिपक्ष दलका नेता जेएन थपलियाले सरकारलाई जनताप्रति उत्तरदायी बनाउनुपर्ने बताउनुभयो । प्रदेश सरकार निर्माण भएको ५–६ वर्ष बितिसक्दा पनि सरकारले कर्मचारी व्यवस्थापन, प्रहरी समायोजन गर्न नसक्नु, प्रदेशसभाको भवन निर्माण कार्य नसक्नु सरकारको चुनौती भएको बताउनुभयो । उहाँले वर्तमान सरकार सत्तामा भएको वर्ष बित्दासमेत प्रभावकारी काम हुुन नसकेकाले सरकारले आफूले गरेको कार्यको समीक्षा गर्न आवश्यक रहेको बताउनुभयो ।

प्रदेश सरकार जनताप्रति उत्तरदायी नभएको उहाँको आरोप छ । सरकारले मन्त्रालय बढाउने, हरेक मन्त्रालयको टेण्डरमा भ्रष्टाचार गर्ने काममात्र गरेको उहाँको आरोप छ । प्रदेश सरकारले प्रतिपक्षी दललाई छलफलमा ल्याउन नसकेको बताउँदै सरकार सञ्चालनको तौरतरिका निरंकुश शैलीमा भएको उहाँको भनाइ छ ।