हेटौंडा उपमहानगरपालिका ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका बैठक पहिलो पटक कार्यतालिकाअनुसार मंगलबार बसेको छ । हरेक महिनाको २ र १६ गते कार्यपालिका बैठक बस्ने कार्यतालिकाअनुसार चालु आर्थिक वर्षमा पहिलो पटक माघ १६ गते मंगलबार बैठक बसेको हो । बैठक लगत्तै निर्णयहरु समेत सार्वजनिक गरिएको छ । हेटौँडा उपमहानगरपालिकाको सूचना शाखाले कार्यपालिका बैठकको निर्णय जानकारी गराएको छ ।

मंगलबार दिउँसो बसेको कार्यपालिका बैठकले अघिल्लो कार्यपालिका बैठकको समीक्षा गर्दै ५५ औं नगर स्थापना दिवस विविध कार्यक्रम गरी आगामी फागुन १ गतते मनाउने निर्णय गरेको छ । गत वर्षदेखि मात्रै उपमहानगरले स्थापना दिवस मनाउन सुरु गरेको थियो । कार्यपालिका बैठकले हेटौँडा–४ मा निर्माणाधिन बहुउद्देश्यीय व्यावसायिक भवन निर्माण प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । बहुउद्देश्यीय भवन निर्माण सम्झौता गरेको निर्माण व्यवसायीले निर्माण कार्य अगाडि बढाउन स्थानीयको अवरोध रहेको भन्दै निर्माण कार्य अगाडि बढाउन नसक्ने जनाउँदै उपमहानगरपालिकामा क्षतिपूर्ति समेत दावी गरेर काम रोकेको छ ।

कार्यपालिका बैठकले नगरका २, ८, १७ र १८ नम्बर वडाको बालबालिकाका लागि पञ्चवर्षीय आवधिक योेजना स्वीकृत गर्ने निर्र्णय गरेको छ । हेटौँडा उपमहानगरपालिका बालमैत्री पालिका घोषणा गर्ने तयारी भइरहेका बेला वडागत पञ्चवर्षीय योजना स्वीकृत गर्ने निर्र्णय भएको हो । यस्तै विभिन्न निकायबाट जग्गाप्राप्तिका लागि सिफारिस माग भएअनुसार स्थलगत अध्ययन गरी प्रक्रिया अगाडि बढाउने निर्णय पनि कार्यपालिका बैठकले गरेको छ ।

उपमहानगरको सामाजिक समावेशीकरण नीति तर्जुमा गर्न सैद्धान्तिक सहमति उपलब्ध गराउने, नवप्रवद्र्धनसम्बन्धी कार्यक्रम कार्यान्वयन गर्ने, नवप्रवद्र्धनसम्बन्धमा सरोकारवाला निकायसँग समन्वय गर्ने निर्णय पनि कार्यपालिका बैठकले गरेको छ । हेटौँडा–५, क्याम्पाडाँडास्थित प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवम् संरक्षण केन्द्रको पहिलो गेट नजिकको सार्वजनिक बाटोमा बनेको संरचना हटाउने निर्णय गरेको छ ।

कार्यपालिका बैठकका निर्णयहरु ।