हेटौंडाः मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा मंगलबारबाट सुरु हुने छैठौँ संस्करणको स्थानीय तह शहीद स्मृति मकवानपुर अन्तर्राष्ट्रिय गोल्डकपको उद्घाटन खेलमा पारो एफसी भुटान र बागमती युथ क्लब सर्लाहीबीच प्रतिस्पर्धा हुने भएको छ । सोमबार जिल्ला फुटबल संघले फेसबुक पेजमार्फत् प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।
हेटौंडा-६ स्थित गौरीटार रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा एफसी भुटान र बागमती युथ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगिताको उपाधि विजेता टिमले १५ लाख रुपैयाँ र उपविजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीहरुका लागि समेत पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीका लागि हेटौंडा–४ का व्यवसायी सन्तोष गौतमले ३ सय ५० सीसीको रोयल इन्फिल्ड बाइक प्रायोजन गर्नुभएको छ । प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल यही माघ २७ गते हुनेछ । प्रतियोगिता आयोजनाका लागि विभिन्न निकायहरुबाट सहयोग प्राप्त भएको छ ।
यस वर्षको प्रतियोगिताको समापन कार्यक्रममा एकजना उत्कृष्ट पत्रकारलाई ५० हजार रुपैयाँ नगद राशिसहित सम्मान गरिने जनाइएको छ । करिब १ करोड ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि प्रवेश शुल्क एक सय रुपैयाँ तोकिएको छ भने सेमिफाइनल र फाइनल खेलमा टिकटको रकम बढाउने जनाइएको छ । प्रतियोगिता सञ्चालनको सम्पूर्ण जिम्मेवारी न्यु डाँफे युथ क्लबलाई दिइएको छ । गत वर्षको प्रतियोगिताको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको थियो । फाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई १–० गोलअन्तरले हराउँदै मनाङ मस्र्याङ्दीले उपाधि जितेको थियो ।