हेटौँडाः विभिन्न घटनामा एकैदिन ४ जनाको मृत्यु भएको छ । चितवन, धादिङ र नुवाकोट जिल्लामा एकै दिन ४ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । चितवन जिल्लाको राप्ती नगरपालिका–१०, थामटारमा झलुङ्गे पुलबाट खोलामा खस्दा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ४२ वर्षीया सीता माया तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार साँझ ५ बजेको समयमा झलुङ्गे पुलबाट पम्फाखोलामा तामाङ खस्दा घाईते भएकी थिईन । घाइते तामाङलाई उपचारका लागि पुरानो मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा ६ बजेको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
धादिङ जिल्लाको गजुरी गाउँपालिका–६, जरेखेतमा मोटरसाइकल अनियन्त्रित भई कल्भर्टबाट खस्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा जिल्लाको सिमिल स्मृति गाउँपालिका–१, घोडागढीका १९ वर्षीय विशाल केसी रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार बिहान ५ बजेर १० मिनेटको समयमा काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको प्र ३–०३–००१ प २६३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको कल्भर्टबाट ८ मिटर तल खसेर दुर्घटना हुँदा विशाल गम्भीर घाईते भएका थिए । विशाललाई उपचारका लागि गजुरी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका–५, मुलामा एकजना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा ३८ वर्षीय सुमन खड्का रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । खड्का शनिबार राती घर नआएकाले आफन्तहरुले खोजतलास गर्दै जाँदा आइतबार घरदेखि एक सय मिटर पर पहिरो बाटोबाट ७० मिटर तल मृत अवस्थामा फेला परेका थिए ।
नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–८, चिसापानीमा एकजना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा ५५ वर्षीय देवी बहादुर कार्की रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबारदेखिख हराएका कार्कीलाई आफन्तले खोजतलास गर्दै जाँदा आइतबार बिहान १० बजेको समयमा घरदेखि १ सय ५० मिटर पर चिसापानी भिरको खोँचमा मृत अवस्थामा फेला परेका थिए । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशुली लगिएको प्रहरीले जानकारी दिएको छ ।