हेटौँडाः सहिद सप्ताह अन्तर्गत सोमबार शिक्षक दौड तथा स्लो स्कुटर प्रतिस्पर्धा भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको व्यवस्थापन तथा हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजनामा भएको पुरुष शिक्षक दौडमा ३४ जनाको सहभागिता रहेको थियो भने महिला शिक्षक स्लो स्कुटी प्रतियोगितामा ४० जनाको सहभागिता रहेको थियो ।
पुरुष शिक्षक दौड प्रतियोगितामा मकवानपुरगढी गाउँपालिकाको भानु माविका मुकेश चौलागाई प्रथम, भानु माविकै दुर्लभ कुमार दुलाल द्वितीय, हेटौँडा–४ स्थित नवोदय शिशु सदनका राम कंशाकार तृतीय हुनुभयो । यस्तै मकवानपुरगढी गाउँपालिकास्थित शारदा माविका दिनेश सुवेदी चौथो हुँदा र नवोदय शिशु सदनका अविरल शाक्य सान्त्वना हुनुभयो । स्लो स्कुटी प्रधिस्पर्धामा हेटौँडा–१४ स्थित भृकुटी माविकी सिर्जना थिङ प्रथम, हेटौँडा–४ स्थित ब्रह्मदिक् एकेडेमीकी सुजिता बोम्जन द्वितीय र ब्रह्मदिककै मुना लामा तृतीय हुनुभयो ।
दौड प्रतियोगिता ४ नम्बर वडा कार्यालयबाट शुरू भई शितलमहल चोक, ओमभवन चोक, भैरवरोड, मिलनचोक हुँदै ४ नम्बर वडा कार्यालयमै आइपुगेको थियोे । स्लो स्कुटी प्रतियोगिता भने हुप्रचौरमा भएको थियो । नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहालको सभाध्यक्षता तथा संघीय सरकारका पूर्व युवा तथा खेलकुद मन्त्री पुरूषोत्तम पौडेलको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रममा ४ नम्बर वडाध्यक्ष नवीन सिग्देलको विशेष आतिथ्यमा रहेको थियो ।