वर्ष २०२४ का अध्यक्ष अमृत पाठक (बायाँ) लाई सपथ गराउनुहुँदै वर्ष २०२३ का अध्यक्ष प्रेमबहादुर गोङ्बा (दायाँ) ।

हेटौँडाः बस्तीपुर जेसीज हाँडीखोलाको अध्यक्षमा अमृत पाठक पदस्थापित हुनुभएको छ । हेटौंडा–१९, बस्तीपुरस्थित बस्तीपुर जेसीजको सभाहलमा शनिबार आयोजित कार्यक्रममा वर्ष २०२३ का अध्यक्ष प्रेम बहादुर गोङ्बाले वर्ष २०२४ का लागि निर्वाचित अमृत पाठकलाई पद हस्तान्तरण गर्नुभएसँगै पाठकलाई अध्यक्षमा पदस्थापित गरिएको हो ।

बस्तीपुर जेसीजको अध्यक्षमा पाठकसहित कार्यकारिणी उपाध्यक्षमा हरेराम हटुवाल (निर्मल) र सञ्जोग उप्रेती र उपाध्यक्षमा लोक लामा मोक्तान, रविन लामा, सोवित वाईबा र दिनेश चौलागाई सर्वसम्मत निर्वाचित हुनुभएको थियो । प्रतिनिधि सभा सदस्य दीपक बहादुर सिंहको प्रमुख आतिथ्यमा भएको पदस्थापन कार्यक्रममा अध्यक्ष पाठकले महासचिवमा सुरज बर्तौला, कोषाध्यक्षमा सन्देश पण्डित, कानुनी सल्लाहकारमा सन्दिप पाठकसहित सदस्यहरुलाई विभिन्न जिम्मेवारी दिनुभएको छ । पदस्थापनपछि अध्यक्ष पाठकले आफ्नो कार्यकालमा गरिब तथा विपन्न विद्यार्थीको स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गर्ने बताउनु भयो ।

बस्तीपुर जेसीजले यस वर्षको समाजसेवी पुरस्कार ॐ बृद्धाश्रयका अध्यक्ष सिद्धिलाल श्रेष्ठ र “स्वर्गीय उदय सिंह पाठक पत्रकारिता पुरस्कार” पत्रकार रुपक कालिराजलाई प्रदान गरेको छ । श्रेष्ठ र कालिराजलाई जनही सात हजार दुइ सय दुइ रुपैयाँ नगदसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, नेपाल जेसीजका महासचिव सरोज अधिकारीको पनि आतिथ्य रहेको थियो ।