हेटौँडाः पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बागमती प्रदेशको अधिवेशन शनिबार धादिङमा सम्पन्न भएको छ । शुक्रबार र शनिबार दुइदिन सञ्चालन भएको महासंघको तेस्रो अधिवेशनले भक्तपुरका विश्वराम त्वयनाको अध्यक्षतामा १७ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरेको छ ।
समितिमा मकवानपुरका विज्ञान रिमाल सदस्य चयन हुनुभएको छ भने लेखा समिति संयोजकमा मकवानपुरका अजित थापा र लेखासमिति सदस्यमा रोशन खनाल निर्वाचित हुनुभएको छ । रिमाल र थापा पुस्तक तथा स्टेशनरी व्यवसायी संघ मकवानपुरका पूर्वअध्यक्ष हुनुहुन्छ भने खनाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ मकवानपुरको वर्तमान कार्यसमितिमा सदस्य हुनुहुन्छ ।
नवनिर्वाचित प्रदेश समितिको कार्यकाल दुइ वर्षको हुनेछ । शुक्रबार महासंघको प्रदेश समितिका अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य रामनाथ अधिकारीको प्रमुख आतिथ्यमा अधिवेशनको उद्घाटन कार्यक्रम भएको थियो । उद्घाटन कार्यक्रममा महासंघका अध्यक्ष सञ्जय चौधरीको पनि आतिथ्य रहेको थियो ।