वक्तृत्वकलामा विजयी सहभागीहरु ।

हेटौँडाः “बालश्रम, बालशोषण र हिंसा अन्त्य गर्न बालबालिकाको भूमिका” विषयक वक्तृत्वकलामा असेज अधिकारी प्रथम हुनुभएको छ । हेटौँडा उपमहानगरपालिका ११ नम्बर वडास्तरीय बाल समूह सञ्जालको आयोजना तथा वडा कार्यालय र सहिद स्मारक विकास समितिको समन्वयमा आइतबार आयोजित सहिद सप्ताह अन्तर्गत भएको प्रतियोगितामा अधिकारी प्रथम हुनुभएको हो ।

प्रतियोगितामा आँचल सुवेदी द्वितीय, सायना सपकोटा तृतीय र सृष्टि उप्रेती सान्त्वना भएका छन् । सबैले क्रमशः ५ हजार, ३ हजार र तेस्रो र सान्त्वनाले २–२ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा वडाभित्रका २५ जना बालबालिकाको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई स्मारक विकास समितिका सचिव रघुनाथ खुलालले पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभयो ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज सोमबार साँस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण र शिक्षक खुल्ला दौड प्रतियोगिता हुनेछ । यस्तै अन्तिम दिन भोलि मंगलबार प्रभातफेरी, सहिदप्रति सलामी, श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार वितरण, प्रवचन तथा समापन कार्यक्रम हुने सहिद स्मारक विकास समितिका सचिव खुलालले जानकारी दिनुभयो ।