आइतबार काँग्रेस मकवानपुरको विस्तारिक बैठकमा सहभागीहरु ।

हेटौँडाः सत्तारुढ दल नेपाली काँग्रेसले “समुदायमा काँग्रेस” अभियान लिएर जनताको कुरा सुन्न वडा र टोलसम्म जाँदैछ । जनतामा चरम निराशाको स्थिति देखिएका बेला काँग्रेसले जनताको कुरा सुन्न जाने अभियानको घोषणा गरेको हो । केन्द्रको अभियान लिएर जनतामाझ जान काँग्रेस मकवानपुरले आइतबार विस्तारित बैठकको आयोेजना गरेर नेता, कार्यकर्तालाई जिम्मेवारी तोकेको छ । “समुदायमा काँग्रेस” अभियानमा नेताको आसनग्रहण र भाषण नहुने काँग्र्रेस मकवानपुरका सभापति बुद्ध लामाले जानकारी दिनुभयो ।

“समुदायमा काँग्र्रेस अभियान लिएर वडा र टोलसम्म जाने पार्टीको निर्णयअनुसार आज (आइतबार) पार्टी जिल्ला समितिको विस्तारित बैठक बसेर वडामा जाने प्रतिनिधि तोेकिएको छ”, समृद्ध समाजसँग कुरा गर्नुहुँदै सभापति लामाले भन्नुभयो, “यो अभियानको क्रममा सञ्चालन गरिने कार्यक्रममा नेताको आसनग्रहण र भाषण हुन्न । पार्टीप्रति जनताको धारणा, सरकारको काम, जनताको अपेक्षा, सल्लाह, सुझाव लिनेछौं । अभियानको तयारीस्वरुप पार्टीको जिल्ला समितिको बैठकमा पनि हामीले आसनग्रहण गराएनौं ।” वडा र टोल तहसम्म पुगेर जनतासँग खुला बहस गर्ने उहाँको भनाइ थियो ।

समुदायमा काँग्रेस अभियानमा विभिन्न क्षेत्रका व्यक्तिसँग, लक्षित समूहसँग छलफल हुने लामाले बताउनुभयो । काँग्रेस मकवानपुरका सचिव भीमसेन महतले जनताका भनाइ, सल्लाह, सुझाव र अपेक्षालाई पार्टीको केन्द्रीय समितिमा पठाइने बताउनुभएको छ । अभियानका क्रममा जनतासँग अनौपचारिकरुपमा छलफल गर्ने जानकारी दिनुहुँदै सचिव महतले भन्नुभयो, “राजनीतिप्रति जनताको धारणा, जनताका पछिल्लो भोगाई बुझेर लिपिवद्ध गर्छौं ।” भोलि मंगलबार सहीद दिवसको अवसर पारेर सुरु हुने अभियान माघ २६ गते सुशील कोइरालाको स्मृति दिवसका दिन समापन गरिने सभापति लामाले जानकारी दिनुभएको छ । अभियानका लागि केन्द्रीय प्रतिनिधिको रुपमा राजन केसी आज सोमबार मकवानपुर आइपुग्नुहुने सभापति लामाले बताउनुभयो । यस्तै नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहलाई मकवानपुर जिल्लामा खटाएको छ ।

आइतबारको जिल्लास्तरीय विस्तारित बैठकमा सहभागी नेपाली काँग्रेसका एक जिल्ला नेताले केन्द्रदेखि प्रदेश र स्थानीय सरकारसम्म रहेकाहरुले पार्टीले अंगीकार गरेको नीति पालना नगरिरहेको सन्दर्भमा जनतामाझ जाँदै गर्दा नकारात्मक टिप्पणीको सामना गर्नुपर्ने जोखिम रहेको बताउनुभयो । पार्टीको तल्लो तहका नेता, कार्यकर्ताको मनोवल गिरेका बेला समुदायमा जाने कुरा औपचारिकता मात्रै हो कि भन्ने पनि आशंका रहेको उहाँले चिन्ता व्यक्त गर्नुभयो । पार्टीको तर्फबाट मकवानपुर जिल्लाका १० स्थानीय तहमा निर्वाचित प्रतिनिधिले गरेका काम र जनताको प्रतिक्रियामा पार्टीले नियमित समीक्षा र जनप्रतिनिधिलाई सचेत गराउन ध्यान नदिएको उहाँको गुनासो छ ।