हेटौँडाः मकवानपुर जिल्लाका निजी विद्यालयहरुमा एसईई अभ्यास परीक्षा आइतबारबाट सुरु भएको छ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भएको छ । जिल्लाका ३८ वटा निजी विद्यालयका एक हजार दुइ सय ४२ विद्यार्थी परीक्षामा सहभागी छन् । परीक्षा फारम भरेका मध्ये ७ जना विद्यार्थी अनुपस्थित रहेको प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीले जानकारी दिनुभएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) ले देशभर एकसाथ अभ्यास परीक्षा सञ्चालन गरेको प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीले जानकारी दिनुभएको छ । विद्यार्थीको अवस्था मूल्यांकन गर्न र परीक्षाको भयलाई कम गर्न पनि अभ्यास परीक्षा गरिएको प्याव्सन मकवानपुरका अध्यक्ष सुुवेदीको भनाइ छ । प्याव्सनले फरक विद्यालयमा परीक्षा केन्द्र तोकेर विद्यार्थीका लागि अभ्यास परीक्षा सञ्चालन गरिएको उल्लेख गर्नुहुँदै अध्यक्ष सुुवेदीले भन्नुभयो, “अभ्यास परीक्षाको नतीजा माघ महिनाको अन्त्यसम्ममा सार्वजनिक गरेर एसईईका लागि विद्यार्थीलाई अझ सक्षम तुल्याउन आवश्यक तयारी गर्ने अवसर विद्यार्थी, विद्यालय र अभिभावकलाई रहनेछ ।”
मकवानपुर जिल्लामा ८ वटा परीक्षा केन्द्र निर्धारण गरेर परीक्षा सुरु गरिएको छ । हेटौँडा उपमहानगरपालिकामा ५ वटा, थाहा नगरपालिकामा दुइ वटा र मनहरी गाउँपालिकामा एउटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । हेटौँडामा हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूल, हेटौँडा–५ स्थित सिद्धार्थ शिशु सदन, हेटौँडा–७ स्थित तासिर इंग्लिस स्कूल, हेटौँडा–१० स्थित तुल्सीमेहर मेमोरियल स्कूल र सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी रहेको छ । थाहा नगरपालिकामा पालुङ बहुमुखी क्याम्पस र बज्रबाराही माविमा परीक्षा केन्द्र निर्धारण गरिएको छ भने मनहरी गाउँपालिकामा राष्ट्रिय माविमा परीक्षा केन्द्र निर्धारण गरिएको प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीले जानकारी दिनुभयो । बिहान ७ बजेबाट परीक्षा सुरु हुने तालिका बनाइएको छ । राष्ट्रिय परीक्षा बोर्डले चैत १५ गतेदेखि एसईईको तालिका सार्वजनिक गरेको छ ।