हेटौंडाः हेटौंडा–७ स्थित तासिर इङ्लिस सेकेण्डरी स्कूलको खेलकुद सप्ताह कार्यक्रमको सुरुवात भएको छ । मंगलबार हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा विद्यालयका खेलकुद सप्ताह सुरु भएको हो ।
खेलकुद सप्ताहको उद्घाटन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिठेबहादुर कार्कीको सभाध्यक्ष तथा ५ नम्बर वडा अध्यक्ष सुशील घिमिरेको प्रमुख आतिथ्यमा भएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष घिमिरेले विभिन्न विद्यालयले आयोजना गरेको खेलकुद सप्ताहले विद्यार्थीहरुमा लुकेको प्रतिभालाई जगाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले विद्यालयका विद्यार्थीहरुलाई विभिन्न खेलकुद प्रतियोगितामा सहभागी हुने क्रममा प्रशिक्षकको व्यवस्था गराउन आग्रह गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कार्कीले शिक्षा सँगसँगै विद्यार्थीहरुलाई मनोरञ्जन गराउने उद्देश्यले सप्ताहको आयोजना गरेको बताउनुभयो । मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्कीले विद्यालयले आयोजना गरेको खेलकुद प्रतियोगितामार्फत् विद्यार्थीहरु प्रदेशस्तरीय हुँदै राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुने विश्वास व्यक्त गर्नुभयो ।
शुक्रबारसम्म सञ्चालन हुने कार्यक्रममा महिला पुरुष फुटबल, कबड्डी, डज बल, टग अफ वार, एथ्लेटिक्स, बलुन नृत्य, विद्यालय जाने तयारी, गणित दौडलगायत खेलहरु सञ्चालन हुनेछ । विद्यार्थीहरुले नृत्य र तेक्वान्दो खेलको काता प्रदर्शनी पनि गरेका छन् । खेलकुद सप्ताहमा नर्सरी कक्षादेखि ९ कक्षासम्मका विद्यार्थीहरुको सहभागिता रहेको छ । विभिन्न प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने स्कूलका प्रिन्सीपल विनोद थपलियाले बताउनुभएको छ ।
खेलकुद सप्ताहको उद्घाटन कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य माधव तिमल्सिना, बागमती प्रदेश क्रिकेट संघका उपाध्यक्ष प्रेम क्षेत्री, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइराला, विद्यालयका शिक्षक, विद्यार्थीको उपस्थिति रहेको थियो ।