आँखा केन्द्रमा आँखा परीक्षण गरिँदै ।

हेटौँडाः बकैया गाउँपालिका र हेटौँडा सामुदायिक आँखा अस्पतालको सहकार्यमा मकवानपुर जिल्लाको बकैया गाउँपालिकाको छतिवनमा बकैया ग्रामीण आँखा केन्द्र उद्घाटन भएको छ । बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले सोमबार ९५ वर्षीया पूर्ण राईलाई आँखा जाँचका लागि ओपीडी कार्ड हस्तान्तरण गरी केन्द्रको उद्घाटन गर्नु भएको हो । केन्द्रमा पूर्णरुपमा आँखा जाँच कार्यक्रम शुरु भएको छ ।

उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लामिछानेले बकैया गाउँपालिका र हेटौँडा सामुदायिक आँखा अस्पतालको सक्रियतामा केन्द्र स्थापना हुँदा यस क्षेत्रका मानिसहरुले आँखाका सामान्य समस्याका लागि हेटौँडा जानुपर्ने अवस्था नहुने बताउनु भयो । हेटौँडा सामुदायिक आँखा अस्पतालका व्यवस्थापक सुधीर श्रेष्ठले समुदायस्तरमा पुगी आँखा स्वास्थ्य सेवा प्रदान गर्न गाउँपालिकाको सहकार्यमा स्थापना भएको केन्द्रमा आँखा स्वास्थ्यसम्बन्धी अन्य कार्यक्रमहरु पनि संचालन गर्न समन्वय गरिने बताउनु भयो ।

आँखा केन्द्र स्थापनापछि सामूहिक तस्वीर खिचाउँदै ।

केन्द्रमा आँखा जाँच, चश्मा जाँच, औषधि सेवा, सामान्य शल्यक्रिया र नियमित आँखा शिविर पनि सञ्चालन गरिनेछ । उद्घाटनको अवसरमा आयोजित निशुल्क आँखा शिविरमा १ सय ८५ जना बिरामीको आँखा जाँच गरिएकामा २३ जना मोतिविन्दुका बिरामीहरुको भेटिएको छ । यसअघि मकवानपुरका ६ वटा पालिकामा ग्रामीण आँखा केन्द्र स्थापना भइसकेको छ । मकवानपुरको मनहरी, बागमती, ईन्द्रसरोवर, कैलाश गाउँपालिका र थाहा नगरपालिकामा ग्रामीण आँखा केन्द्र स्थापना भइसकेको छ ।

हेटौँडा सामुदायिक आँखा अस्पतालले आवश्यक उपकरणको व्यवस्थापन गर्ने र सम्बन्धित पालिकाले आँखा केन्द्र सञ्चालनका लागि स्थान र २ जना जनशक्ति व्यवस्थापन गरेपछि आँखा केन्द्र स्थापना हुने हेटौँडा सामुदायिक आँखा अस्पतालका व्यवस्थापक सुधीर श्रेष्ठले जानकारी दिनुभएको छ । हेटौँडा आँखा अस्पतालले २० लाख रुपैयाँ बराबरको उपकरण उपलब्ध गराउँदा पालिकाले नासु सरहको नेत्र सहायक र एकजना सहयोगी कर्मचारीको व्यवस्थापन गर्नुपर्ने हुन्छ । मकवानपुरका १० वटा पालिकामध्ये राक्सिराङ, भीमफेदी र मकवानपुरगढी गाउँपालिकामा मात्रै ग्रामीण आँखा केन्द्र स्थापना हुन बाँकी छ । भीमफेदी र राक्सिराङमा आँखा केन्द्र स्थापनाका लागि पहल भइरहेको र मकवानपुरगढी गाउँपालिकामा पनि पहल गरिने व्यवस्थापक श्रेष्ठले बताउनुभएको छ ।