हेटौँडाः हेटौँडा–२ स्थित सिद्धार्थ माविको ४८ औं वार्षिकोत्सव ४ दिन विविध क्रियाकलापको आयोजना गरी सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा शुक्रबारदेखि विविध क्रियाकलापको आयोजना गर्दै सोमबार समापन समारोहको आयोजना गरिएको थियो । समापन समारोहमा प्रधानाध्यापक, शिक्षक, कर्मचारी, विद्यार्थीलाई सम्मान समेत गरिएको छ । यस्तै ४ दिन आयोजित विविध क्रियाकलापमा सहभागी भई पुरस्कृत शिक्षक, अभिभावक, कर्मचारीलाई पुरस्कार वितरण गरिएको थियो ।
वार्षिकोत्सवको अवसरमा विद्यालयका सहयोगी, अक्षयकोषका संस्थापकलाई पनि सम्मान गरेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम घिमिरेको अध्यक्षता तथा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा समापन समारोह भएको हो । कार्यक्रममा वडा अध्यक्ष विष्णुगोपाल महर्जन, शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दीनानाथ गौतम, राष्ट्रिय परीक्षा बोर्डका प्रमुख कृष्णप्रसाद घिमिरे, हेटौँडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाका प्रमुख हरिचन्द्र सापकोटाको पनि आतिथ्य रहेको थियो । वार्षिकोत्सवको अवसरमा प्रधानाध्यापक मोहनप्रसाद शर्मालाई दीर्घसेवा सम्मान गरिएको थियो ।
समापन समारोहलाई सम्बोधन गर्नुहुँदै विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद शर्माले विद्यार्थीमा पठन संस्कृति ह्रास हुँदै जानु चुनौतिको विषय भएको औँल्याउनुभएको छ । विद्यालयको आयश्रोत नहुनु, विद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दी प्राप्त नहुनुले विद्यालयलाई समस्या भइरहेको उहाँको भनाइ थियो । १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा दुई हजार २५ जना विद्यार्थी अध्ययनरत छन् । वार्षिकोत्सवको अवसरमा विद्यालयले रक्तदान कार्यक्रम, पूर्वविद्यार्थी, पूर्वशिक्षकको भेला समेत आयोजना गरेको थियो । वार्षिकोत्सवको अवसरमा विद्यार्थीले शैक्षिक प्रदर्शनी, नृत्य, गायन तथा नाट्य कला प्रस्तुत गर्नुका साथै खाना महोत्सवको समेत आयोजना गरेका थिए ।