प्रतियोगिताबारे जानकारी गराउनुहुँदै मकवानपुर जिल्ला क्रिकेट संघका सचिव विनोद बानियाँ ।

हेटौँडाः मकवानपुर जिल्ला क्रिकेट संघको आयोजनामा यही माघ २० गतेदेखि दोस्रो संस्करणको स्व. निरज श्रेष्ठ स्मृति यु–१६ विद्यालयस्तरीय टि–२० प्रिमियर क्रिकेट प्रतियोगिता हुने भएको छ । सोमबार मकवानपुर क्रिकेट संघले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता बारे जानकारी गराएको छ । प्रतियोगिता हेटौँडा–४ स्थित हुप्रचौरमा हुनेछ ।

प्रतियोगिता लिग कम नकआउटको आधारमा सञ्चालन हुनेछ । प्रतियोगितामा बढीमा १६ वटा विद्यालय सहभागी हुने मकवानपुर जिल्ला क्रिकेट संघका सचिव विनोद कुमार बानियाँले जानकारी दिनुभएको छ । मकवानपुर जिल्ला क्रिकेट टिमका पूर्व कप्तान निरज श्रेष्ठको सम्झनामा गत वर्षदेखि प्रतियोगिताको आयोजना गर्न लागिएको मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्ष करन महत्रा क्षेत्रीले बताउनुभयो ।

आउँदो चैत महिनामा हुने क्रिकेट प्रतियोगितामा १६ वर्ष उमेर समुहका खेलाडीहरु छनोट गर्नका लागि पनि प्रतियोगिताको आयोजना गर्न लागेको अध्यक्ष क्षेत्रीले बताउनुभयो । विद्यालयस्तरीय प्रतियोगितामा सहभागी हुने खेलाडीहरु मध्ये पहिलो चरणमा उत्कृष्ट २२ जना छनोट गरेर प्रशिक्षण दिने उहाँले बताउनुभयो । प्रतियोगिताको उपाधि विजेता र उपविजेताले प्राप्त गर्ने नगद राशीबारे पछि निर्णय गरिने संघका सचिव विनोद बानियााले बताउनुभयो ।

प्रतियोगिता आयोजनाका लागि ५ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको खेल तालिका अर्को सातासम्ममा सार्वजनिक गरिने जनाएको छ । पहिलो संस्करणको प्रतियोगिताको उपाधि हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयले जितेको थियो भने उपविजेता हेटौँडा–१० स्थित सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी बनेको थियो । गत वर्ष ८ वटा निजी विद्यालय र ४ वटा सामुदायिक विद्यालय गरी १२ वटा विद्यालयको सहभागिता रहेको थियो ।