बागमतीः छैठौं संस्करणको बागमती गोल्डकप आगामी फागुन १ गतेदेखि सुरु हुने भएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक बागमती खेलकुद विकास समितिले प्रतियोगिताबारे जानकारी गराएको हो ।
प्रतियोगितामा ६ वटा ए डिभिजन क्लब, ३ मोफसल र एक विदेशी टोलीको सहभागिता रहने बागमती गाउँपालिकाको खेलकुद विकास समितिका अध्यक्ष टिकालाल श्रेष्ठले जानकारी गराउनुभयो । प्रतियोगितामा ६९ लाख ६० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । गत संस्करण ए डिभिजन क्लब संकटालाई हराउँदै विदेशी टोलि एफसी भुटनिज स्पोर्टस् क्लबले उपाधि जितेको थियो । यो संस्करणमा भुटनिज भने सहभागी नहुने जनाएको छ । फागुन १० गते सप्पन्न हुने प्रतियोगिताको विजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
पत्रकार सम्मेलनमा बोल्नुहुँदै बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले स्थानीय तहले खेलाडी उत्पादन गर्न लगानी गरेको बताउनुभयो । पालिकाले बाहिर भएका प्रतिभालाई पनि प्रदर्शन गर्न राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरेको बताउनुभयो । पालिकाले अहिले खेलाडी उत्पादनका लागि सबै वडामा खेलमैदान निर्माण गरेको उहाँले बताउनुभयो ।
पालिकामा राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने चरणमा रहेको बताउनुहुँदै उहाँले युवाहरुले खेलेरै जिविकोपार्जन गर्न सकिने वातावरण बन्ने बनाउनुभयो । यसका लागि सरकार मात्रै लागेर सम्भव नहुने बताउनुहुँदै उहाँले सबै अभिभावक र खेलाडीको पनि भूमिका रहने बताउनुभयो । पालिकाले खेलाडीहरुलाई व्यवस्थित रुपमा प्रशिक्षणको वातावरण तयार गर्ने योजना बनाइरहेको उहाँले बताउनुभयो ।
पत्रकार सम्मेलनमा बागमती गाउँपालिकाको ३ नम्बर वडा अध्यक्ष कमानसिं पाख्रिन, ४ नम्बर वडा अध्यक्ष दन्तलाल माझी, पालिकाका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलान, मकवानपुर जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष अरुण बलको आतिथ्य रहेको थियो ।