हेटौंडाः मकवानपुरमा आत्महत्या गर्नेको संख्या भयावह बन्दै गएको छ । जिल्लाभर पुस महिनामा मात्र १३ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्कअनुसार पुस महिनामा १० जनाले झुन्डिएर र ३ जनाले विष सेवन गरी आत्महत्या गरेका छन् । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ६१ जनाले आत्महत्या गरेका छन् ।

गएको पुस २३ गते मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, भालुखर्कका ११ वर्षीय रोशन थोकरले गोठमा झुन्डिएर आत्महत्या गरे । घटनाबारे अनुसन्धान गर्न प्रहरीलाई समस्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । आत्महत्या गर्ने ठाउँमा कुनै सुसाइट नोट नभेटिएका कारण घटनाबारे अनुसन्धान गर्न गाह्रो भएको उहाँको भनाइ छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा देखिने आत्महत्या दुरुत्साहनजन्य सामग्री हेरेर स–साना बालबालिकाहरुले पनि आत्महत्या गरेको हुनसक्ने उहाँको भनाइ छ । पछिल्लो समय सबै वर्गका परिवारमा आत्महत्याका घटना देखिने गरेको उहाँले बताउनुभयो । उहाँले यो अवस्थालाई रोक्न आवश्यक रहेको बताउनुभयो ।

प्रहरीले सचेतना कार्यक्रम गर्ने गरे पनि पर्याप्त नभएको आफूलाई लागेको उहाँले बताउनुभयो । सरकारी निकाय, बालबालिका र मानव अधिकारको क्षेत्रमा काम गर्ने उद्देश्यले सञ्चालित संघसंस्थाहरु सबैले अध्ययन गरेर सचेतनाका कार्यक्रम बढाउनुपर्ने उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको हालसम्म आत्महत्या रोकथामसम्बन्धी सचेतना गरेकोमा १ हजार ४ सयभन्दा बढी सहभागी भएका थिए । यस्तै, गत आर्थिक वर्षमा ३० वटा सचेतना कार्यक्रम गरेको थियो ।

आत्महत्या प्रयासका घटना पनि उत्तिकै छन् । आत्महत्याका घटनाको विषयमा सघन अध्ययन गरी यस्तो गलत कार्यको कारण र रोकथामका लागि स्थानीय सरकार, समुदायका अगुवाको ध्यान जान सकेको छैन । मकवानपुर जिल्लामा कतिपय आत्महत्याको प्रयासका घटना लैंगिक हिंसा र बलात्कारका घटनाबाट पीडित भएकै कारण पनि भइरहेको देखिन्छ । प्रहरी, प्रशासनले पनि आत्महत्याको घटनालाई गम्भीर रुपमा लिएर समाधानतर्फ अग्रसरता देखाउन सकेको छैन ।