रक्तदान गर्दै रक्तदाता । फाइल तस्वीर ।

हेटौंडाः पुस महिनामा मकवानपुरमा २ सय ३९ जनाले रक्तदान गरेका छन् । हेटौंडा–१ स्थित रक्तसञ्चार केन्द्र हेटौंडामार्फत् एक महिनामा विभिन्न संघसंस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ३७ जना महिला र २ सय २ जना पुरुषले रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो ।

पुस महिनामा ८ वटा संघसंस्थाले रक्तदान कार्यक्रम आयोजना गरेका थिए । पुस ८ गते हेटौंडा–१९ स्थित निर्मल माध्यमिक विद्यालयले रक्तदान कार्यक्रम गरेको थियो । यस्तै, ११ गते हेटौंडा बचत तथा ऋण सहकारी संस्था, १२ गते ज्योति माध्यमिक विद्यालयल, १४ गते कैलाश गाउँपालिकास्थित नेपाल रेडक्रस सोसाइटी गोगने, १९ गते सिटी कलेज, २१ गते मकवानपुर उद्योग वाणिज्य संघ, २७ गते राष्ट्रिय प्रजात्रन्त्र पार्टी मकवानपुर र २९ गते महर्जन परिवारको आयोजनामा रक्तदान कार्यक्रम भएको थियो ।

पुस महिनामा रक्तदान गरेका २ सय ३९ जनामध्ये ३१ जनाले केन्द्रमै पुगेर रक्तदान गरेको सापकोटाले बताउनुभयो । रक्तसञ्चार केन्द्र हेटौंडाले पुस महिनामा २४ युनिट सेतो रगत बनाई वितरण गरेको छ भने समग्रमा ३०५ युनिट रगत वितरण गरेको छ । केन्द्रले धेरै रक्त हेटौंडा अस्पताललाई वितरण गरेको छ । सापकोटाका अनुसार अहिलेको समयमा ओ पोजेटिभ रगतको अभाव रहेको छ । रक्तसञ्चार केन्द्रमा दैनिक ४–५ जना ब्लड गु्रप जाँच गर्न आउने गरेका छन् ।