तालिमका क्रममा शिक्षकले बनाएका शैक्षिक सामग्री ।

हेटौंडाः हेटौंडा–८, कमानेस्थित चन्द्रोदय माध्यमिक विद्यालयमा कक्षा व्यवस्थापन, शैक्षिक सामग्री निर्माण तथा प्रभावकारी शिक्षण क्रियाकलापसम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । विद्यालयको आयोजना भएको तालिम बिहीबार सुरु भएर शुक्रबार सम्पन्न भएको हो ।

कक्षा नर्सरीदेखि ५ कक्षासम्मका विद्यार्थीलाई बढी प्राथमिकतामा राखेर तालिमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक जीधराज ढकालले जानकारी दिनुभएको छ । विषयगत शैक्षिक सामग्री निर्माण, फरक क्षमता भएका विद्यार्थीलाई सिकाइ सहजीकरणबारे तालिममा छलफल गरिएको प्रधानाध्यापक ढकालले बताउनुभयो । तालिमसँग सम्बन्धित ज्ञान भएका २ जना प्रशिक्षकले शिक्षकहरुलाई प्रशिक्षण दिएको उहाँले बताउनुभयो ।

समयसापेक्ष शिक्षकलाई तालिम दिँदा पठनपाठन उत्कृष्ट हुने र शैक्षिक उन्नति हुने अपेक्षा गरिएको उहाँको भनाइ छ । तालिममा चन्द्रोदय माध्यमिक विद्यालयका १० जना, हेटौंडा–८ स्थित हिमगंगा आधारभूत विद्यालयबाट ३ जना र हेटौंडा–७ स्थित नवज्योति माध्यमिक विद्यालयबाट ३ जना गरी १६ जना शिक्षकहरुको सहभागिता रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इवाकर मैनालीको सभाध्यक्षमा तालिम सम्पन्न भएको हो ।