हेटौंडाः विभिन्न घटनामा एकैदिन ३ जनाको मृत्यु भएको छ । चितवन, काभ्रेपलाञ्चोक र दोलखा जिल्लामा एकैदिन ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
चितवन जिल्लाको भरतपुर महानगरपालिका–१५, देवीचोकमा ग्याँस लिक भएर आगो लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय मनिष थापा रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार बिहान १० बजेको समयमा अविनाश फर्टिलाइजरको (मल उत्पादन गर्ने स्थान) क्वाटरभित्र ग्याँस लिक भई शरीरमा एक्कासी आगो लाग्दा थापाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका–२, हातेडाँडामा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय लोकप्रसाद तिमिल्सिना रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार दिउँसो ३ बजेको समयमा तिमिल्सिना घरदेखि ३ सय मिटर उत्तरमा रहेको आफ्नै पाखो बारीको खस्रुको रुखमा चढी स्याउला काट्ने क्रममा रुखबाट लडी घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, दोलखा जिल्लाको बिगु गाउँपालिका–१, देउरालीमा सुख्खा पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीय कुसाङ तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार नासा हाइड्रोपावरले लामाबगरबाट चाइना जोड्ने नयाँ ट्रयाक सडक खन्ने क्रममा माथिबाट सुख्खा पहिरो खस्दा हाइड्रोपावरको कामदारहरु घाइते भएका थिए । घाइते हुनेमा २८ वर्षीय दिलकुमार तामाङ र ५८ वर्षीय रसमान तामाङ गम्भीर घाइते भएका थिए । घाइते दुबैलाई उपचारका लागि अस्पताल लगिएको छ । कुसाङ तामाङको उद्दारको क्रममा मृत्यु भएको थियो ।