हेटौंडाः बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विष्णुकुमार केसीले पदभार ग्रहण गर्नुभएको छ । मंगलबार बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा डीआईजी केसीले पदभार ग्रहण गर्नुभएको हो ।
पदभार ग्रहण गर्दै डीआईजी केसीले आफ्ना मातहतका प्रहरी अधिकृतहरुलाई निर्देशनसमेत दिनुभएको छ । डीआईजी केसीले बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, बागमती प्रदेश प्रहरी गण हेटौंडा, नेपाल प्रहरी सुरक्षा गण रातोमाटे, बागमती प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म हेटौंडाका कार्यालय प्रमुखसहित उपस्थित सिनियर प्रहरी अधिकृत, जुनियर तथा मातहत प्रहरी कर्मचारीहरुलाई आवश्यक विभागीय निर्देशन दिनुभएको हो । कार्यक्रममा पदभार ग्रहणपश्चात् बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी वरिष्ठ उपरीक्षक रविकुमार पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभयो ।
बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जमा सरुवा हुनुभएसँगै डीआईजी केसी बागमती प्रदेश प्रहरी कार्यालयको प्रमुखको रुपमा आउनुभएको हो । नेपाल सरकारको मन्त्रिपरिषद्को पुस २४ गते बसेको बैठकले नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण तथा विकास निर्देशनालयमा रहनुभएको केसीलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा सरुवा गरेको थियो ।