हेटौंडाः मकवानपुर जिल्लास्तरीय १४ औँ संस्करणको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आगामी माघ १२ गतेदेखि हुने भएको छ । शुक्रबार जिल्ला खेलकुद विकास समिति मकवानपुरको बैठकले प्रतियोगिता माघ १२ गतेदेखि सुरु गर्ने निर्णय गरेको कार्यालय प्रमुख माधव कोइरालाले जानकारी दिनुभयो ।
प्रतियोगितामा सहभागी जनाउनका लागि स्थानीय तहहरुले माघ १० गतेसम्ममा खेलाडीहरुको वितरण बुझाएर दर्ता गर्नुपर्ने प्रमुख कोइरालाले बताउनुभयो । मकवानपुरको सबै स्थानीय तहहरुले पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिता सम्पन्न गरिसकेको छ । माघ १४ गतेसम्म चल्ने प्रतियोगितामा भलिबल, कबड्डी र एथलेटिक्सका खेलहरु सञ्चालन हुनेछ ।
जिल्लास्तरीय छनौट प्रतियोगिता सम्पन्न भएपछि प्रदेशस्तरीय छनौट खेल खेल्न १ सय १५ जना खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राख्ने उहाँले बताउनुभयो । गएको संस्करणमा एक हप्ता खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखेको खेलकुद विकास समितिले यसपटक भने दुई हप्ता प्रशिक्षणमा राख्ने निर्णय गरेको उहाँले बताउनुभयो । खेलाडीहरुलाई अझ तयारी पुगोस् र नतिजा राम्रो होस् भन्नका लागि बन्द प्रशिक्षणको समय बढाउन लागेको प्रमुख कोइरालाले बताउनुभयो ।











