फाइल तस्वीर ।

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा जारी पाँचौ संस्करणको पालिकास्तरीय फुटबल प्रतियोगिताअन्तर्गत् जुनियरतर्फको खेलमा वडा नम्बर ११ फाइनलमा प्रवेश गरेको छ । बिहीबार बकैया–३ स्थित हात्तीसुँडेमा भएको पहिलो सेमिफाइनल खेलमा वडा नम्बर १२ लाई २–१ गोलले हराउँदै वडा नम्बर ११ फाइनलमा प्रवेश गरेको पालिकाका खेलकुद विकास समितिका अध्यक्ष विजय लामा थिङले बताउनुभयो ।

वडा नम्बर ११ को जितमा निखिल घलान र निश्चल लामाले एक–एक गोल गरे । यस्तै १२ नम्बर वडाका लािग सुजन घलेले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन भने सकेनन् । खेलको म्यान अफ द म्याच ११ नम्बरका हीरालाल घलान घोषित भए । फाइनल प्रवेश गरेसँगै ११ नम्बरले उपाधिका लागि वडा नम्बर १ र १० बीचको विजेतासँग खेल्नेछ । वडा नम्बर १ र १० बीचको दोस्रो सेमिफाइनल खेल शुक्रबार हुनेछ ।

प्रतियोगिताअन्तर्गत् सिनियरतर्फको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार भएको खेलमा ९ नम्बर वडाले ८ नम्बरलाई हराएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो ।
८ नम्बर वडालाई ट्राइब्रेकरमा ४–३ गोलले हराउँदै ९ नम्बर सेमिफाइनल प्रवेश गरेको छ । खेलको म्यान अफ द म्याच ९ नम्बरका गोलरक्षक रोशन वाईबा घोषित भए । सेमिफाइनल प्रवेश गरेको ९ नम्बरले फाइनल प्रवेशका लागि शनिबार ३ नम्बर वडासँग प्रतिस्पर्धा गर्नेछ ।

शुक्रबार फाइनल प्रवेशका लागि सिनियरतर्फ वडा नम्बर ४ र ५ बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको उपाधि विजेता सिनियर र जुनियर टिमले १ लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सिनियरतर्फ ७ टिम र जुनियरतर्फ ५ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ । प्रतियोगिताअन्तर्गत् पालिकाका कर्मचारी र जनप्रतिनिधिबीच मैत्रीपूर्ण खेल हुने अध्यक्ष थिङले बताउनुभयो । गत संस्करणमा भएको मैत्रीपूर्ण खेलमा कर्मचारीको टिम विजयी भएको थियो ।