न्यानो कपडा वितरणपछि सामुहिक तस्वीर खिचाउँदै ।

हेटौंडाः पूर्वी मकवानपुरको बकैया–८ स्थित जनजागृति माविका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच इस्थर बेन्जामिन संस्थाले १५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको विद्यालयका प्रधानाध्यापक पेम्बा लामाले बताउनुभयो ।

संस्थाले विद्यालयमा अध्ययनरत अभिभावकविहीन तथा विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो । संस्थाले यसअघि पनि उक्त १५ जना विद्यार्थीलाई एक वर्षभरी पुग्ने शैक्षिक सामग्री वितरण गरेको प्रधानाध्यापक लामाले बताउनुभयो । संस्थाले उक्त १५ जना विद्यार्थीहरुलाई कक्षा १२ सम्म शैक्षिक सामग्री र कपडा वितरण गर्ने उहाँले बताउनुभयो ।

विद्यालयमा अझै पनि न्यानो कपडा लगाउनसमेत कठिन विद्यार्थीहरु धेरै संख्यामा रहेको उहाँले बताउनुभयो । विद्यालयमा अझै २ सय जनाभन्दा बढी विद्यार्थीहरुलाई न्यानो कपडा आवश्यकता देखिएको प्रधानाध्यापक लामाले बताउनुभयो ।

कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा अहिले ३ सय १० जना विद्यार्थी अध्ययनरत रहेको उहाँले बताउनुभयो । संस्थाले यसअघि विद्यालयमा पुस्तकालय निर्माण गरेको थियो । संस्थाले विद्यालयको संरचना निर्माण र विद्यार्थीहरुलाई सहयोग गर्दै आएको छ ।

न्यानो कपडा वितरण कार्यक्रममा संस्थाकी शिक्षा परियोजना शाखा प्रमुख सविना ओली र अवलोकन तथा मूल्याङ्कन समितिका प्रमुख सानुकान्छा घलानलगायतको आतिथ्य रहेको थियो ।