हेटौंडाः शैक्षिक विकासको लागि मकवानपुर बहुमुखी क्याम्पस र बागमती गाउँपालिकाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । बिहीबार मकवानपुर बहुमुखी क्याम्पस हेटौंडा र बागमती गाउँपालिकाबीच २ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलान र सामाजिक विकास संयोजक कमान सिं पाख्रिनसहितको टोली र मकवानपुर बहुमुखी क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्याय, साहयक क्याम्पस प्रमुख डा. रामप्रसाद अधिकारी र प्राचार्य उत्तम आचार्यको टोलीबीच बागमती गाउँपालिकाको कार्यालयमा भेटवार्ता तथा छलफल भएको थियो । छलफलको क्रममा मकवानपुर जिल्ला तथा जिल्ला बाहिरको शैक्षिक उन्नयनमा थप सहयोग हुनेगरी यथासम्भव प्रयासरत रहने ध्येयले दुबै पक्षको आवश्यकता र क्षमता पहिचान गरी सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
मकवानपुर बहुमुखी क्याम्पस हेटौंडाले क्याम्पसको स्वीकृत कार्यविधिभित्र रहेर मकवानपुर बहुमुखी क्याम्पस र बागमती गाउँपालिका मकवानपुरबीच भएको सहमतिलाई कार्यान्वयन गर्ने जनाएको छ । समझदारी पत्रमा उल्लेख छ– ‘दुबै संस्थाले गुणस्तर वृद्धिका लागि आवश्यक सहयोगात्मक कार्यहरु गर्ने र सोका लागि आवश्यक पर्ने कार्यविधि निर्माण गर्ने, मकवानपुर बहुमुखी क्याम्पस र बागमती गाउँपालिकाबीच पालिकाको शैक्षिक गुणस्तर वृद्धिका लागि आवश्यक सीप, प्रविधि तथा अन्य सहयोग आदान प्रदान गर्ने छ ।’ समझदारीपत्रमा मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख उपाध्याय र बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले हस्ताक्षर गर्नुभएको छ ।