बुद्धिचाल प्रतियोगितामा सहभागी मकवनपुरका खेलाडीहरु

हेटौंडाः छैटौँ तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगितामा सानदार जित दर्ता गर्दै मकवानपुर जिल्लाको टिम सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्टस् क्लबको आयोजनामा ललितपुरमा जारी प्रतियोगिताको लिग चरणको खेलहरु सम्पन्न भएसँगै मकवानपुरको टोली सेमिफाइनल प्रवेश गरेको हो ।

मकवानुर जिल्ला बुद्धिचाल संघसँगै दोलखा चेस होम नेपाल, कोशी प्रदेश चेस संघ र भक्तपुर जिल्ला बुद्धिचाल संघ प्रतियोगिताको नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ । बिहीबार सम्पन्न भएको लिग चरणको अन्तिम खेलमा रोमाञ्चक प्रतिस्पर्धा भएको थियो । उत्कृष्ट खेल प्रर्दशनी गरेको दोलखा चेस होम नेपालमाथि कोशी प्रदेशले सानदार जित निकालेको प्रतियोगितामा वर्तमान नेपाल च्याम्पियन एफएम रुपेश जैसवालले प्रकाशचन्द्र नेपाललाई पराजित गरेका थिए ।

सुश्रुत दाहाल र सविनचन्द्र घिमिरेबीचको खेल समानरुपमा सकिएको थियो । मुहान नर्सिङले मिसन दाहालसँग हार व्यर्होनुपरेको थियो । यस्तै, वर्तमान महिलातर्फको नेपाल च्याम्पियन डब्लुएफएम सुजना लोहनी कृतिसरा अधिकारीसँग स्तब्ध बनेकी थिइन् । जसले गर्दा कोशी प्रदेश दोलखा चेस होमसँगै नकआउट चरणमा प्रवेश गरेको हो ।

भक्तपुर चेस संघले थापाथली पार्क चेस क्लबमाथि २.५–१.५ को जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको थियो । पुरुषोत्तम सिलवाल र क्षितिज भण्डारीबिचको खेल बराबरीमा सम्पन्न भएको थियो । विक्रम चोकामीले सुशील चौधरीसँग हार्नुभयो भने स्वर्णिम दुवालले सेम सुब्बामाथि र अभिक शाहले अनुपजङ्ग शाहमाथि जित निकाल्नुभयो ।

मकवानपुर चेस र आयोजक ललितपुर स्पोर्टस् क्लबबिचको प्रतियोगिता बिजेटा टिम नकआउट चरणमा प्रवेश गर्ने थियो । उक्त खेलमा मकवानपुरका सीएम कृष्ण थापा, सिन्धेश्वर दास र अनुश्न गौतमसहित तीन खेलाडीले महत्वपूर्ण जित हात पारे । मकवानपुरका सुदेन टुइँटुइँ रिसोन थापासँग पराजित भए पनि टोलीलाई कुनै असर भएन ।

राष्ट्रियस्तरका उत्कृष्ट १९ क्लबको सहभागिता रहेको प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख रुपैयाँ, उपविजेताले १ लाख २० हजार रुपैयाँ, तृतीय हुने टिमले ६० हजार रुपैयाँ र चौथो हुने टिमले ४० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रत्येक बोर्डमा प्रथम हुने ४ जना खेलाडीहरुले जनही १० हजार रुपियाँ पुरस्कार प्राप्त गर्ने जिल्ला बुद्धिचाल संघ मकवानपुरका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताअन्तर्गत् शुक्रबार सेमिफाइनल खेल र र शनिबार फाइनल खेल हुनेछ ।