Home खेलकुद मकवानपुर सेमिफाइनलमा प्रवेश

मकवानपुर सेमिफाइनलमा प्रवेश

बुद्धिचाल प्रतियोगितामा सहभागी मकवनपुरका खेलाडीहरु

हेटौंडाः छैटौँ तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगितामा सानदार जित दर्ता गर्दै मकवानपुर जिल्लाको टिम सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्टस् क्लबको आयोजनामा ललितपुरमा जारी प्रतियोगिताको लिग चरणको खेलहरु सम्पन्न भएसँगै मकवानपुरको टोली सेमिफाइनल प्रवेश गरेको हो ।

मकवानुर जिल्ला बुद्धिचाल संघसँगै दोलखा चेस होम नेपाल, कोशी प्रदेश चेस संघ र भक्तपुर जिल्ला बुद्धिचाल संघ प्रतियोगिताको नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ । बिहीबार सम्पन्न भएको लिग चरणको अन्तिम खेलमा रोमाञ्चक प्रतिस्पर्धा भएको थियो । उत्कृष्ट खेल प्रर्दशनी गरेको दोलखा चेस होम नेपालमाथि कोशी प्रदेशले सानदार जित निकालेको प्रतियोगितामा वर्तमान नेपाल च्याम्पियन एफएम रुपेश जैसवालले प्रकाशचन्द्र नेपाललाई पराजित गरेका थिए ।

सुश्रुत दाहाल र सविनचन्द्र घिमिरेबीचको खेल समानरुपमा सकिएको थियो । मुहान नर्सिङले मिसन दाहालसँग हार व्यर्होनुपरेको थियो । यस्तै, वर्तमान महिलातर्फको नेपाल च्याम्पियन डब्लुएफएम सुजना लोहनी कृतिसरा अधिकारीसँग स्तब्ध बनेकी थिइन् । जसले गर्दा कोशी प्रदेश दोलखा चेस होमसँगै नकआउट चरणमा प्रवेश गरेको हो ।

भक्तपुर चेस संघले थापाथली पार्क चेस क्लबमाथि २.५–१.५ को जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको थियो । पुरुषोत्तम सिलवाल र क्षितिज भण्डारीबिचको खेल बराबरीमा सम्पन्न भएको थियो । विक्रम चोकामीले सुशील चौधरीसँग हार्नुभयो भने स्वर्णिम दुवालले सेम सुब्बामाथि र अभिक शाहले अनुपजङ्ग शाहमाथि जित निकाल्नुभयो ।

मकवानपुर चेस र आयोजक ललितपुर स्पोर्टस् क्लबबिचको प्रतियोगिता बिजेटा टिम नकआउट चरणमा प्रवेश गर्ने थियो । उक्त खेलमा मकवानपुरका सीएम कृष्ण थापा, सिन्धेश्वर दास र अनुश्न गौतमसहित तीन खेलाडीले महत्वपूर्ण जित हात पारे । मकवानपुरका सुदेन टुइँटुइँ रिसोन थापासँग पराजित भए पनि टोलीलाई कुनै असर भएन ।

राष्ट्रियस्तरका उत्कृष्ट १९ क्लबको सहभागिता रहेको प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख रुपैयाँ, उपविजेताले १ लाख २० हजार रुपैयाँ, तृतीय हुने टिमले ६० हजार रुपैयाँ र चौथो हुने टिमले ४० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रत्येक बोर्डमा प्रथम हुने ४ जना खेलाडीहरुले जनही १० हजार रुपियाँ पुरस्कार प्राप्त गर्ने जिल्ला बुद्धिचाल संघ मकवानपुरका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताअन्तर्गत् शुक्रबार सेमिफाइनल खेल र र शनिबार फाइनल खेल हुनेछ ।

Exit mobile version