राष्ट्रय सेवक बहुउदेश्यीय सरकारीको २४ औँ वार्षिक साधाहरणमा सरकारीको कारोवारको बारेमा जनकारी गराउनुहुँदै सस्थाक अध्यक्ष यादविन्द्र पौड्याल ।

हेटौँडाः राष्ट्रसेवक बहुउद्देश्यीय सरकारी संस्थाले गत आर्थिक वर्षमा ६ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । शनिबार सम्पन्न सहकारीको २४ औं वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष यादविन्द्र पौडेलले आर्थिक वर्ष २०७९–०८० मा ६ करोड ८० लाख ८४ हजार ३० रुपैयाँको कारोबार गरेको जानकारी दिनुभएको हो ।

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले सरकारसँग आवद्ध भएका जनशक्तिको सदुपयोग गर्न सक्नुपर्ने बताउनुभएको छ । अहिलेको समयमा शिक्षा प्रणालीमा सुधार नभएको उहाँले बताउनुभयो । शिक्षा नीतिलाई कसरी लैजाने, शिक्षामा कस्तो नियम लागु गर्नुपर्ने भन्ने कुराको कुनै निष्कर्ष नभएको उहाँले दावी गर्नुभएको छ । सहकारी सहकारीबीचमा सकारात्मक सहकार्य हुनुपर्ने उहाँको भनाइ छ । स्यानीय उत्पादनलाई जोड दिएर व्यापार व्यावसाय गर्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पेशागत महासंघका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद ढकालले निजामति सेवामा कार्यरत हुनेहरुलाई कानुनी दायराबाट बलियो बनाउनुपर्ने बताउनुभयो । वर्तमान कार्यकालमा मानव वेचविखन, भ्रष्टाचार बेथिति, विकृतिजस्ता कार्यहरु भइरहेको उहाँको भनाइ छ । संस्थाका अध्यक्ष पौडेलको सभाध्यक्ष तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा सहकारीका उपाध्यक्ष फणिन्द्रप्रसाद तिमल्सिना, सचिव नेत्रप्रसाद आचार्यलगायतको उपस्थिति रहेको थियो ।

वि.स. २०५६ साल माघ १३ गते स्थापना भएको सहकारी संस्थामा १ सय ५५ जना महिला, ३ सय ९९ जना पुरुष र अन्य संस्थागत ३ गरी असार मसान्तसम्म ५ सय ५७ शेयर सदस्य रहेको संस्थाका अध्यक्ष पौडेलले बताउनुभयो । संस्थाले आर्थिक वर्ष २०७९–०८० मा ३ करोड ५ लाख रुपैयाँ ऋण लगानी गर्ने लक्ष्य लिएकोमा ३ करोड ८८ लाख ४९ हजार रुपैयाँ लगानी गरेको उहाँले बताउनुभयो । ऋण असुलीतर्फको लक्ष्य २ करोड रुपैयाँ रहेकोमा ३ करोड १२ लाख ४६ हजार रुपैयाँ असुली गर्न सफल भएको अध्यक्ष पौडेलले बताउनुभयो ।

आर्थिक वर्ष ०७९–०८० मा संस्थाको शेयर पुँजी १ करोड २४ लाख २५ हजार ३ सय रहेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । बाह्य ऋण सापटी चुक्ता हुन बाँकी नभएको भन्दै उहाँले सहकारीको जगेडा कोषमा २ करोड ७९ लाख जम्मा भएको बताउनुभयो । गत आर्थिक वर्षको खुद मुनाफाको २५ प्रतिशतले हुने रकम ११ लाख ५३ हजार ७७१ र अन्य कोषहरु समायोजन बाट ४१ लाख १५ हजार साधारण जगेडा कोषमा थप भएको उहाँले बताउनुभयो ।

सहकारीले गत आर्थिक वर्ष २०७९–०८० को नाफाबाट संरक्षित पुँजी फिर्ता कोषमा ८ लाख ६५ हजार, सहकारी प्रवद्र्धन कोषमा १७ हजार र सहकारी विकास कोषमा १ लाख २९ हजार छुट्याइएको अध्यक्ष पौडेलले बताउनुभयो । यस्तै, घाटापूर्ति कोष, सामुदायिक विकास कोष, सहकारी शिक्षा कोष, कर्मचारी बोनस कोष र अन्य जोखिम व्यवस्थापन कोषका लागि गत आर्थिक वर्षको नाफाबाट १ लाख २९ हजार रुपैयाँका दरले रकम छुट्याइएको उहाँले जानकारी दिनुभयो । सहकारीले गत आर्थिक वर्षको मुनाफाबाट शेयर सदस्यहरुलाई १६ लाख ७६ हजार रुपैयाँ लाभांश व्यवस्था गरेको छ ।