साधारणसभालाई सम्बोधन गर्नुहुँदै वडा सदस्य जनरल श्रेष्ठ ।

हेटौँडाः हेटौँडा–४, कमलडाँडास्थित हरियाली टोल विकास संस्थाको वार्षिक साधारणसभामा सम्पन्न भएको छ । शनिबार बिहान टोल विकास संस्थाका अध्यक्ष राजु अर्यालको अध्यक्षता तथा वडा सदस्य जनरल श्रेष्ठको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो ।

साधारणसभामा संस्थाका सचिव सुरेश श्रेष्ठले टोल विकास संस्थालाई क्रियाशील बनाई वाचनालय सन्चालन गर्ने, नियमित सरसफाई र बचत संकलनको कार्य गरिने बताउनुभयो । प्रमुख अतिथि जनरल श्रेष्ठले वडाको भौतिक पूर्वाधार विकासको कार्य पर्याप्त मात्रामा भएको उल्लेख गर्नुहुँदै टोल विकास संस्थामार्फत वडाको सामाजिक विकासको कार्य गरिने बताउनुभयो । समुदायमा आपसी सौहाद्र्धता अभिवृद्धि गर्ने, सद्भाव फैलाउने माध्यमको रुपमा टोल विकास संस्थालाई विकसित गर्दै लैजानुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष राजु अर्यालले विगतमा केही निष्क्रिय रहेको टोल विकास संस्थालाई आगामी दिनमा टोलवासीको सल्लाह, सुझावमा प्रभावकारी काम गर्ने बताउनुभयो । कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका महासचिव शिवहरि दाहाल, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष राजेन्द्र वास्ताकोटी, हरियाली टोल विकास संस्थाका पूर्वअध्यक्ष शान्ति लामिछाने, बालमैत्री सहजकर्ता अमिसा अधिकारीको पनि आतिथ्य रहेको थियो । साधारणसभाअघि टोल विकास संस्थाका पदाधिकारी तथा टोलवासीले टोल क्षेत्रको सरसफाई गरेका थिए ।