हेटौंडा उपमहानगरपालिका ।

हेटौँडा, २० पुसः हेटौँडा उपमहानगरपालिकाले कार्यपालिका बैठकको निर्णय दोस्रो पटक शुक्रबार पनि सार्वजनिक भएको छ । नगरसभाको अघिल्लो दिन शुक्रबार बिहान बसेको बैठकको निर्णय शुक्रबार साँझ सार्वजनिक गरिएको हो । बैठक बसेकै दिन निर्णय सार्वजनिक भएको सम्भवतः यो पहिलो पटक हो । कार्यपालिकाको बैठक सार्वजनिक भएको भने यो दोस्रो पटक हो ।

२०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनपछि हेटौँडा उपमहानगरपालिकाले कार्यपालिका बैठक सार्वजनिक गर्ने गरेको थिएन । तीव्र आलोचनापछि पुस ६ गते बसेको कार्यपालिका बैठक सार्वजनिक भएको थियो । पुस ६ गते बसेको कार्यपालिकाको बैठक पुस ८ गते मात्रै सार्वजनिक गरिएको थियो ।

नगर कार्यपालिका बैठकका निर्णयहरु ।

शुक्रबारको कार्यपालिका बैठकले ५ वटा बुँदेमा निर्णय गरेको छ । पहिलो बुँदामा अघिल्लो कार्यपालिका बैठकबाट भएका निर्णयको कार्यान्वयनको समीक्षा गरिएको उल्लेख गरेको छ भने दोस्रो बुँदामा चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति, योजना, कार्यक्रम तथा बजेटको संशोधित अनुमानको प्रस्ताव स्वीकृतिका लागि १४औं नगरसभामा पेश गर्ने निर्णय गरेको छ । तेस्रो बुँदामा ऐन निर्माण तथा संशोधन गर्ने निर्णयअन्तर्गत उपमहानगरले वन ऐन २०८०, संघ संस्था दर्ता तथा नियमन सम्बन्धी ऐन २०८०, आर्थिक ऐन २०८० को पहिलो संशोधन ऐन २०८०, विनियोजन ऐन २०८० को पहिलो संशोधन २०८० र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको ऐन २०७५ को पहिलो संशोधन ऐन २०८० नगर सभामा पेश गर्ने निर्णय गरेको छ ।

यस्तै एसिया प्यासिफिक एकीकृत सहर र स्थानीय सरकारको सदस्यता प्रक्रिया अगाडि बढाउने निर्णयसँगै लेखा समितिको प्रतिवेदनमाथि छलफल गरी प्रस्तावको रुपमा नगरसभामा पेश गर्ने निर्णय गरेको छ । हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेको हस्ताक्षरमा निर्णय सार्वजनिक गरिएको हो । हेटौँडा उपमहानगरपालिकाले हिउँदे अधिवेशनको रुपमा १४ औं नगर सभा शनिबार हेटौँडा–१८, हर्नामाडीमा आयोजना हुँदैछ ।