साङ्केतिक तस्बिर

हेटौंडाः जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति मकवानपुरले ६० दिनभित्र एम्बुलेन्स सञ्चालनका लागि नवीकरण गर्न अनुरोध गरेको छ । राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ को दफा ११ र १४ अनुसार एम्बुलेन्स सञ्चालनका लागि मकवानपुरका एम्बुलेन्स चालकहरुले ६० दिनभित्र अनुमति नवीकरण गर्नु पर्नेछ ।

एम्बुलेन्स नवीकरण गर्नुपर्ने व्यवस्था हुँदा पनि कतिपय एम्बुलेन्स सञ्चालकहरुले सञ्चालन अनुमति तथा नवस्करण नगरी एम्बुलेन्स सञ्चालनमा ल्याएका छन् । यस विषयलाई लिएर जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको मंसिर २० गते बैठक बसेको थियो । बैठकमा भएको निर्णयअनुसार जिल्लाभित्र सञ्चालित एम्बुलेन्सहरुले मंगलबारदेखि ६० दिनभित्र अनिवार्य नवीकरण गर्नुपर्ने भएको छ ।

एम्बुलेन्स सञ्चालकहरुले निर्देशिकाबमोजिम मापदण्ड पूरा गरी एम्बुलेन्स सञ्चालन अनुमति तथा नवीकरण प्रमाणपत्र लिएरमात्र एम्बुलेन्स सञ्जाल (१०२) मा आबद्ध हुनुपर्ने व्यवस्था मिलाइएको छ ।

तोकिएको अवधिमा नवीकरण नगरेमा राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ को दफा १७ बमोजिम कारबाही हुने बताइएको छ । मकवानपुर जिल्लाभित्र ५३ वटा एम्बुलेन्स रहका छन् । मकवानपुर जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार हेटौंडा उपमहानगरपालिकामा २० वटा, थाहा नगरपालिकामा ९ वटा, बागमती गाउँपालिका र बकैया गाउँपालिकामा ४–४ वटा एम्बुलेन्स रहेको छ । यस्तै, भीमफेदी गाउँपालिका र राक्सिराङ गाउँपालिकामा एउटा–एउटा, मकवानपुरगढी गाउँपालिकामा २ वटा, मनहरी गाउँपालिकामा ६ वटा, इन्द्रसरोवर गाउँपालिका र कैलाश गाउँपालिकामा ३–३ वटा एम्बुलेन्स रहेको छ । मकवानपुरमा ३ वटा सववाहन रहेको छ ।

दर्ता गरेका एम्बुलेन्समा स्वास्थ्य मन्त्रालयले जीपीएस जडान गर्ने भएको छ । एम्बुलेन्स राति चलाउन गाह्रो हुने भएकाले मन्त्रालयले सहजताका लागि अन्य प्रणाली राख्ने भएको हो ।