सांकेतिक तस्वीर ।

हेटौँडाः बुधबार बिहान पिटि दौडमा सहभागी एकजना प्रहरी जवानको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ । डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका–६ घर भई हाल बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा कार्यरत २५ वर्षीय प्रहरी जवान विनोद एडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बुधबार बिहान ६ बजेर ४० मिनेटको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–११, थानाभर्याङमा हेटौँडा बजारबाट नवलपुरतर्फ जाँदै गरेको ना ४३ प २२२ नम्बरको मोटरसाइकलले एडीलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट घाइते भएका एडीलाई उपचारका लागि हेटौँडा अस्पताल पुर्याइकोमा बुधबार बिहान ७ बजेर ३० मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक हेटौँडा–४, हुप्रचौरका ४१ वर्षीय लक्ष्मण लामा घाइते भएका छन् । टाउको र हातमा चोट लागेका लामाको हेटौँडा अस्पतालमा उपचारपछि थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज पठाइएको छ । मोटरसाइकलको ठक्करबाट पिटि दौडमा सहभागी प्रहरी जवान नवराज सार्की र विजय खत्री पनि सामान्य घाइते भएका छन् । सार्की र खत्री दुबैजना उपचार पश्चात डिस्चार्ज भएको प्रहरीले जानकारी दिएको छ ।