मकवानपुर जिल्लाको पुरानो सदरमुकाम भिमफेदीको बेग्लै ऐतिहासिक महत्व छ । २०११ सालको ठूलो बाढी–पहिरोले भीमफेदी लगायत यस वरपरका गाउँबस्तिहरुमा ठुलो क्षति पु¥याएपछि र २०१३ सालमा त्रिभुवन राजपथको निर्माण भएपछि यसको महत्व घट्दै गएको हो । यसभन्दा अगाडि यो ऐतिहासिक बजार देशभित्र र बाहिर छिर्ने प्रमुख नाका थियोे । त्रिभुवन विमानस्थल बनेको थिएन । बेलायत लगायत पश्चिमा देश र भारतबाट समेत रक्सौलदेखि अमलेखगञ्जसम्म रेलमा, अमलेखगञ्जदेखि भीमफेदीसम्म ट्रक बसमा चढेर यस स्थानमा बास बसेपछि पैदलै हिँडेर चिसापानीको उकालो, कुलेखानी, चन्द्रागिरी चढेपछि मात्र काठमाडौं उपत्यका पुगिन्थ्यो ।

चिसापानी गढीमा जिल्लाका वडा हाकिम बस्दथे । देसबाट बाहिरिने र भित्रिनेहरुको गढी मै राहदानी जाँच हुन्थ्यो । भीमफेदी बजारदेखि एक कोस पर धोर्सिङ बजारमा रोपवेबाट तराई, भित्री मधेस र भारतबाट समेत आयात गरिएका खाद्यान्न, दैनिक उपभोगका सामानहरु, लत्ताकपडा, मट्टीतेल उपत्यका भित्र ढुवानी हुन्थ्यो । भीमफेदीबाट थानकोटसम्म डोको र तामदानमा हिँड्न् नसक्ने यात्रुहरू बोकाएर यात्रा गर्दथे । भरियालाई बोकाएर पनि सामान ढुवानी हुन्थ्यो । काठमाण्डुमा राजा, राणा र ठुला भारदार चढ्ने उसबेलाका कार, जीपहरु सयौं भरियाहरुलाई बोकाएर यहीँबाट उपत्यका पु¥याइन्थ्यो ।

देशभित्र बाहिरी संसारका मानिस हिमालय र पहाडै पहाडको देश नेपालको राजधानी आउने जाने वास बस्ने एउटै मात्र नाकाको बजार भएको ले यस स्थानको चहलपहल निकै महत्वपूर्ण थियोे । चारैतिर सुन्दर र विशाल पहाडले घेरिएको उत्तर र पूर्बबाट बग्ने नदि र खोलाले घेरिएको मिठो पानी र स्वच्छ हावाले भीमफेदीको विशेषतालाई थपिदिएको थियो । उहिले शिरानको बजारमा एउटा सानो बजार थियोे । यहिँबाट ठाडो उकालो चढेर चिसापानीको उकालो उक्किनु पर्दथ्यो । उकालोको फेदमा भीमसेनको मूर्ति र मन्दिर थियोे । बजारको उत्तर–पूर्वको कुनोमा सैनिकहरु बस्ने ठुल्ठुला व्यारेकहरु थिए । बीच बजारमा टेलिफोन, बिजुली, हुलाक, श्री चन्द्र अस्पताल पाठशाला, अनिकालमा अन्न भण्डारण गर्ने धान गोदाम, यात्रुहरू विश्राम गर्ने ठुल्ठुला धर्मशालाहरु थिए । तल्लो धर्मशालामा सिलाइ–कटाई तानमा लुगा बुन्ने कृषि र बागवानीसम्मको पढाई हुने आठ कक्षासम्मको भीम आधार हाइ स्कुल थियोे । २०१८ सालमा यो महेन्द्र हाइ स्कुलमा रुपान्तरण भयो ।

बजारको पुछारमा तत्कालिक समयका श्री ३ र श्री ५ बस्ने ठुला दरबारहरु, मोटर राख्ने ग्यारेज, घोडा बाँध्ने तबेलाका साथै बिच बजारको शिरानमा जंगल सफारी र शिकार खेल्न र हात्ती चढ्न आवश्यक बन्दोबस्तीका सामान राख्ने भण्डार हात्तीसार बनेको थियो । बजारदेखि एक कोस पश्चिम धोर्सिङमा काठमाडौंको मातातीर्थसम्म बिजुलीबाट चल्ने रोपलाइन थियोे । धोर्सिङ बजारमा काठमाडौं रोपबाट ढुवानी गर्ने भारत र तराईबाट ल्याएका दैनिक उपभोगका सामान लत्ताकपडा, नुन, मट्टीतेल आदि भण्डार गर्ने गोदामहरु थिए ।

तत्कालिन समयको भीमफेदी बजार आर्थिक, सामाजिक, धार्मिक र साँस्कृतिक रुपले निकै सम्पन्न थियो । व्यापारिक दृष्टिकोणले विदेश, तराई–मधेस र वरपरका गाउँ बस्तीहरुबाट दैनिक उपभोगका सामान, कृषिजन्य बस्तु, तेल, मट्टितेल, मेसनरी पार्ट–पुर्जाहरु देशी–विदेशी उद्योगी, व्यवसायी र व्यापारीहरु यहि बजार भएर नेपाल आउने–जाने भएकोले र यात्रुहरू यहीँका धर्मशाला होटेलमा बास बसेर जाने भएकोले बजारको आर्थिक अवस्था निकै राम्रो थियोे ।

राणा शासनको अन्तिम र प्रजातन्त्र आउने ताका यो बजार राजनीतिक रुपले गतिशील थियो । जहानीया र निरंकुश राणा शासनको प्रस्थान बिन्दुको बजार भएकोले पनि युवाहरू सचेत थिए । परिवर्तनका संवाहक नेताहरू बिपि कोइराला, गणेशमान सिंह, टंकप्रसाद आचार्य, पुष्पलाल श्रेष्ठ, डा. केआई सिंह लगायत सहिद परिवारको पनि आवत–जावत भैरहन्थ्यो । २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा आन्दोलनकारीहरुले यसै स्थानबाट छद्म रूपमा पर्चाहरु उपत्यकामा पु¥याएका थिए । प्रजातन्त्र स्थापना पश्चात छिमेकी देश भारतले हाम्रो देशको उत्तरी सिमाना कालापानी र देशको १२ ठाउँमा भारतीय सैनिक मिसन राखेको थियोे । भीमफेदीको सुपिङ ब्यारेकमा पनि त्रिभुवन राजपथ निर्माणमा उत्तरतिरको सुरक्षा चुनौती बहाना देखाएर सैनिक बटालियन तैनाथ गरेको थियो । भारतीय सैनिक मिसनको बिरोधमा भीमफेदी लगायत देशभर व्यापक प्रदर्शन भएपछि २०१३ सालमा कालापानी बाहेक अन्य ११ स्थानको भारतीय मिसन फिर्ता भएको हो । तर लिम्पियाधुरा कालापानीको सैनिक क्याम्प भारतले अझै हटाइएको छैन ।

त्यसबेलाको धार्मिक तथा साँस्कृतिक अवस्था राम्रो थियोे । महाभारतको कथामा पाँच पाण्डवहरु स्वर्ग जाने क्रममा भीमफेदीमा बास बसेको स्थानमा भोलिपल्ट भीमसेनको एउटा पिडौला शिलाको रूपमा देखिएकोले त्यसै स्थानमा भीमसेनको मन्दिर निर्माण भएको थियो । भिमसेनले बास बसेकैले यस स्थानको नाम भीमफेदी रहन गएको किम्वदन्ती पनि छ । यहाँ बर्षैभरी हरेक चाडपर्व र उत्सवमा उपत्यकामा हुने साँस्कृतिक जात्राहरु, गाईजात्रा, माघ महिनामा हुने जात्राहरु लाखे नाच आदि हुने गर्दथ्यो । भिमसेन जात्रा यहाँको प्रसिद्ध जात्रा हो । यो जात्रा मनाउन गीत, भजन गाउन र दोहोरी, झ्याउरे गाउन र आआफ्नो कला, संस्कृति देखाउन चारैतिरबाट मानिसहरू ओइरिन्थे । यहाँको विद्यालय र साँस्कृतिक कलाकर्मीहरुको संयुक्त आयोजनामा बेला–बेलामा नाटक झाँकी हास्यव्यंग्यका कार्यक्रमहरु हुने गर्दथ्यो । विश्व प्रशिद्ध लेखक म्या. गोर्कीको आमा, बालकृष्ण सम, भिमनिधि तिवारी, विजय बहादुर मल्ल, हृदयचन्द्र सिंह जस्ता ख्यातिप्राप्त लेखकहरुको नाटक मञ्चन हुने गर्दथ्यो । ख्यातिप्राप्त लेखकहरुको कृतिमा आजभन्दा ६० बर्ष अगाडि नै अभिनय गर्ने र सक्रिय हुने कलाकारहरुमा लोककवि गणेशलाल श्रेष्ठ, आनन्दलाल श्रेष्ठ, संघ रत्न तुलाधर, परशुराम दास श्रेष्ठ, गोबिन्द बहादुर ज्यामी, धनलाल श्रेष्ठ, केशवदास श्रेष्ठ, सुन्दर राज ठिके लगायतका युवाहरूको सक्रियता थियो । साँस्कृतिक तथा धार्मिक झाँकी जात्रा तथा ¥यालीहरुमा पुष्प नारायण मुल्मी, गणेशलाल श्रेष्ठ, डम्मरध्वज राना, केदार श्रेष्ठ, सिताराम प्रधान, महावीर श्रेष्ठ, हर्षरत्न बज्राचार्य लगायतका व्यक्तिहरु सक्रिय थिए ।

बीच बाटोको बजार भएकोले राष्ट्रियस्तरका कलाकार र देशी–विदेशी कलाकारहरुले पनि बेलबेलामा कला प्रदर्शन गर्दथ्यो । भारततिरबाट आउने कलाकारहरुले हप्तौंसम्म राम लिला र धार्मिक कलाकृतीहरु प्रस्तुत गर्ने गर्दथ्यो । यी बिबिध धार्मिक, साँस्कृतिक, सामाजिक, आर्थिक र राजनैतिक क्रियाकलाप भएको भीमफेदी २०११ सालको बाढी र पहिरोले क्षत–विक्षत बनायो । भैंसेदेखि काठमाडौंसम्म मोटर चल्न थालेपछि यहाँको चहलपहल बिस्तारै घट्दै गयो । भीमफेदी वरपरका गाउँ–बस्तिका बासिन्दाहरु, बजारका व्यापारीहरु जिबिकोपार्जनका लागि हेटौंडातिर कामको खोजीमा र त्यस वरपरका जंगल फँडानी गर्दै बसाई सर्न थाले । जिल्लास्तरका कार्यालयहरु र सदरमुकाम हेटौंडा सरेपछि भने यो बजार निकै सुनसान भयो ।

यस्तो ऐतिहासिक स्थानमा जन्मनु भएका मकवानपुरका पहिलो श्रष्टा लोककवि गणेशलाल श्रेष्ठले यहि माटोमा आफ्नो कला, साहित्यको श्रृजना गरेँ । हास्य–व्यंग्यको प्रदर्शन गर्दै सेवा गरे लोक साहित्य परिषदबाट लोक कविको मान्यता प्राप्त गरी यस स्थानको गरिमा बढाए । १० बर्ष अगाडि लोककविको शत् वार्षिक समारोहमा नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा शताब्दी पुरुष सत्यमोहन जोशीको नेतृत्वमा साहित्यिक गोष्ठी भएको थियोे । सत वार्षिकी समारोहकै क्रममा नेपाल कला तथा साँस्कृतिक संस्थानका कुलपति अम्बर गुरुङ परराष्ट्रबिद हिरण्यलाल श्रेष्ठ गीत तथा संगीतकार भृगुराम श्रेष्ठ साहित्यकार तुल्सी थापा लगायत थुप्रै साहित्यकारहरु र कलाकर्मीहरु लोक कविको जन्मस्थल भीमफेदी पुगी दीप प्रज्वलन गरी श्रद्धाञ्जली सभा गरेको थियो ।

यस्तो गरिमामय इतिहास भएका मकवानपुरका पहिला साहित्य, संगीत र हास्य व्यंग्यका त्रिवेणी लोक कविको आफू जन्मेकै स्थानमा प्रतिमा स्थापना गर्नु उपयुक्त सम्झेर दुई बर्ष अगाडि मकवानपुर सरोकार समितिले फोहरा बंगला अगाडी आकासे धारा पार्कमा भीमफेदी गाउँपालिकाका अध्यक्ष लगायतको सहमति र संरक्षणमा प्रतिमा प्रतिस्थापन गर्ने निर्णय गरी अनावरणको सम्पूर्ण तयारी भयो । तर अनावरण हुने दिनको रातमा केहि अबान्छित व्यक्तिहरुले मूर्ति चोरी गरी चिसापानी पुलमुनी फ्याँके । प्रहरीको सक्रियताले मूर्ति भेट्टायो पनि । अपराधी भेट्टाउन सकेन । हाल लोक कविको प्रतिमा भीमफेदी प्रहरी चौकीमा छ ।

अझै केहि व्यक्तिहरुको अवरोधका कारण मूर्ति पुनः स्थापित हुन सकेको छैन । बिडम्बना र दुखको कुरा लोककविले आफू जन्मेकै ठाउँमा प्रतिमासम्म राख्ने ठाउँ पाएन । यतिबेला मकवानपुर जिल्ला साहित्यिक गतिविधिमा निकै चलायमान छ । युवा तथा नवोदित कवि साहित्यकार हरु सक्रिय छन् । साहित्य संगम, भीम बिराग संगीत, साहित्य कला प्रतिष्ठान, सिस्नुपानी नेपाल,झरना साहित्य परिषद्, मातृभूमि साहित्य समाज, गजल मञ्च, आँचल साहित्य परिषद्, प्रगतिशील लेखक संघ लगायत दर्जनौं संस्थाहरू सक्रिय रहेको बेलामा अग्रज लेखक तथा कलाकार लोक कवि गणेश लाल श्रेष्ठको भीमफेदी थानाको एउटा अँध्यारो कोठामा धुलोले छोपिएको प्रतिमातिर पनि ध्यान जान्छ कि ?