हाजिरीजवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने जनप्रिय माविका विद्यार्थी, शिक्षकसहित आयोजक र अतिथिहरु ।

हेटौँडाः विज्ञान शिक्षक समाज मकवानपुरले आयोजना गरेको विज्ञानसम्बन्धी हाजिरीजवाफ प्रतियोगितामा हेटौँडा–१६, हटियास्थित जनप्रिय मावि प्रथम भएको छ । हेटौँडा–१८, खड्कुलेस्थित मकवानपुर बाल विद्या सदनसँगको सहकार्यमा आयोजित जिल्लास्तरीय विज्ञान हाजिरीजवाफ प्रतियोगितामा हेटौँडा–१० स्थित तुलसीमेहर मावि द्वितीय, हेटौँडा–४ स्थित नवोदय शिशु सदन तृतीय भएको छ । प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः पाँच हजार, चार हजार, तीन हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान वितरण गरिएको छ ।

मकवानपुर बाल विद्या सदन परिसरमा भएको कार्यक्रममा जिल्लाका १८ वटा विद्यालयको सहभागिता रहेको थियो । राष्ट्रिय परीक्षा बोर्ड मकवानपुरका प्रमुख कृष्णप्रसाद घिमिरेको प्रमुख आतिथ्य तथा विज्ञान शिक्षक समाज मकवानपुरका अध्यक्ष खेमराज लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा बाल विद्या सदनका निर्देशक सुदीप राज गिरीको विशिष्ट आतिथ्य रहेको थियो ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि घिमिरेले विज्ञान र प्रविधिको विकास हुन सके मात्र देशको विकास हुने र यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा विज्ञानप्रतिको सकारात्मक धारणा अभिवृद्धि हुन सहयोग पुग्ने बताउनु भयो । कार्यक्रममा मकवानपुर बालविद्या सदनका निर्देशक सुदीप राज गिरीले नवप्रवर्तनात्मक क्षेत्रमा काम गर्नेहरूसँग आफू सहकार्य गर्न सधैँँ तयार रहेको बताउनु भयो । माध्यमिक तह विज्ञान विषयका ८० प्रतिशत र सामान्यज्ञानका २० प्रतिशत प्रश्नहरू समावेश गरी हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिएको विज्ञान शिक्षक समाज मकवानपुरका सचिव सुवास खनालले बताउनु भयो ।

कार्यक्रममा विज्ञान शिक्षक समाज बागमती प्रदेश समितिका सदस्य मनिल कर्ण, अग्रज विज्ञान शिक्षक राधेलाल मण्डल, जिल्ला सहकोषाध्यक्ष सुनमाया पाख्रिन, मकवानपुरगढी गाउँपालिका अध्यक्ष दीपेन्द्र यादव, मनहरी गाउँपालिका अध्यक्ष ओम प्रकाश सापकोटा, हेटौँडा उपमहानगर सचिव सुदर्शन पौडेल, नगर सदस्य ईश्वर रिजाल, शिक्षकहरू अर्चना दहाल, रविन श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो ।